त्रिकोणात्मक सिरिजमा नेपालको लगातार चौथो हार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत भएको त्रिकोणात्मक सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । बुधबार राति भएको खेलमा युएईसँग ४ विकेटले पराजित हुँदै नेपालले जितविहीन बन्दै सिरिजको अन्त्य गरेको हो ।

जितको लागि २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको युएईले ४९.१ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । युएईको लागि मुहम्मद शदादले सर्वाधिक ९६ रन बनाए । उनले १ सय २३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै मुहम्मद वासिमले ७६, सोहाइब खानले २९, कप्तान अलिशान शराफुले १८ र हर्षित कौशिकले १३ रन बनाए ।

नेपालको लागि करण केसीले १० ओभरमा ५८ रन दिएर तीन विकेट लिँदा नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।

यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो । नेपालको लागि भीम शार्कीले ४८, कुशल मल्लले ४५, दीपेन्द्र सिंह एरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र  सन्दीप लामिछानेले १५ रन बनाए ।

युएईको लागि जनाइद सिद्दिकी, मुहम्मद जवादुल्लाह र ध्रुव पाराषरले एक/एक विकेट लिँदा जाहिद अलीले एक विकेट लिए ।

जितसँगै युएईले २० खेलबाट १० अंक जोड्दै तालिकाको पुछारमा रहेको छ भने समान खेलबाट १२ अंक जोडेको नेपाल सातौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *