चीनले बन्द गरिदियो बिबिसीको प्रसारण

चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई आफ्नो देशमा बन्द गरिदिएको छ । चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको र चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्‍याउने सामग्री प्रसारण गरेकाले प्रतिबन्ध लगाइएको बताएको छ ।

केही हप्ताअघि चीन सरकारले कोभिड-१९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा प्रणालीगत बलात्कार, यौन र श्रम शोषण भइरहेको भन्दै बिबिसीले प्रसारण गरेका रिपोर्टको आलोचना गरेकाे थियाे । बिबिसीका रिपोर्ट निराधार रहेको उल्लेख गर्दै उनीहरूले बिबिसीले गलत सूचना प्रवाह गर्न केही मानिसहरूलाई प्रयोग गरेको बताएका थिए ।

‘उक्त च्यानलले चीनमा विदेशी मिडियाले पालना गर्नुपर्ने नियम पालना नगरेकाले बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चिनियाँ भू-भागमा निरन्तरता दिन सकिन्न,’ चिनियाँ रेडियो तथा टेलिभिजन प्रशासनको विज्ञप्तिमा भनिएको छ । उसले बिबिसीले अर्को वर्ष प्रसारण अनुमतिका लागि दिने निवेदन पनि स्वीकार नगर्ने बताएको छ ।

यसअघि पनि बिबिसी चीनका केही होटल, व्यापारिक केन्द्र र विदेशीका आवासीय केन्द्रबाहेक बाहिर प्रसारण हुँदैनथ्यो । बिबिसी चिनियाँ अधिकारीहरूको लिएको यस्तो निर्णयले दु:खित बनाएको उल्लेख गर्दै बिबिसीले कसैको डर र लोभमा नपरी संसारभरिबाट निष्पक्ष समाचार संकलन र प्रसारण गरिरहेको बताएको छ । बिबिसीमाथिको यो प्रतिबन्धले चीन र बेलायतबीच पछिल्लो चिसिँदै गएको सम्बन्धलाई झन् खस्काएको छ ।

गत वर्ष बेलायतको पूर्वउपनिवेश हङकङमा बेइजिङले राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै ठूला व्यापार साझेदार यी मुलुकको सम्बन्धमा तनाव सुरू भएको थियो । त्यसपछि बेलायतले चिनियाँ लगानीमा थप प्रतिबन्ध लगाएको थियो ।

बेलायती विदेश मन्त्री डोमिनिक राबले बिबिसीमाथिको प्रतिबन्धलाई मिडिया स्वतन्त्रतामाथिको अस्वीकार्य अंकुश भनेका छन् । यसले संसारको आँखामा चीन छविलाई धुमिलमात्र बनाउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *