अलिकति इमान, जिम्मेवारीबोध सबैमा हुने हो भने ‘एयरपोर्ट’को भीड दश गुणा बढेर पनि बन्छ देश

-नारायण गाउँले ।

एयरपोर्टको ढोकैबाट फोटो खिच्यो भने देश रित्तिनै लागेजस्तो फोटो आउँछ । अलिकति अर्को साइडबाट फोटो खिच्यो भने देशकै मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि खाली खाली देखिने रहेछ । के देखाउने भन्ने कुरो मात्रै हो । नेपालमात्रै होइन, विश्वका सबैजसो अन्तर्राष्ट्रिय विमानस्थल बिजी नै हुन्छन् । एयरपोर्ट खाली हुनु अर्थतन्त्रका लागि पनि चिन्ताको विषय हो । एयरपोर्टसँग सयौं अन्य व्यवसाय र दैनिकी गाँसिएका हुन्छन् ।
बाहिरबाट खाली खाली आउने जहाजले मान्छे बोकेर जाने होइन । तिनले उति नै मान्छे लिएर पनि आउँछन् । यो ग्लोबल युगमा मान्छे आउने जाने चलि नै रहन्छ । बेलायत छोडेर जाने पनि धेरै छन् । नामका धेरै भएपनि कामको यत्ति एउटा एयरपोर्ट न हो । पूर्वाधार पर्याप्त नभएर, ठाउँ साँघुरो र व्यवस्थापन कमजोर भएर मात्रै एअरपोर्टमा यत्तिको भीड़ देखिने हो । यहाँ फोटो खिच्दा अटाउने भीड मात्रै पक्कै होइन नेपाल । हामीकहाँ कलिला युवादेखि श्रमबजारमा भित्रिएकासम्म धेरै मान्छे विदेश जान चाहन्छन्, यो सत्य हो । तर देशसँग मानव संसाधनको कुनै कमी छैन । एक करोड़ घटी जनसङ्ख्या भएका कति धेरै देश छन् । हामीसँग तीन करोड छ । ठूलो जनसङ्ख्या युवा छ ।

हाम्रो वैदेशिक व्यापार घाटामा छ । हामीलाई रेमिटेन्स पनि चाहिन्छ । अहिलेसम्म त्यसैले धानेको छ । तत्काल विदेश जाने वर्गलाई रोक्न सकिन्न । हामीलाई दक्ष, अनुभवी र अन्तर्राष्ट्रिय एक्सपोजर भएको जनशक्ति पनि चाहिन्छ । विश्वका हरेक देशमा आफ्नो नागरिक पुग्दा भारत खुशी छ । हामी दुःखी हुनुपर्ने कारण छैन । देशकै लागि भनेर कसैले केही गर्ने होइन । आफ्नै लागि इमान्दार भएर गर्दै गर्दा देशसेवा हुने हो । देश भनेको हामी नै हौं ।

एयरपोर्टबाट बाहिर जानेले नेपाल मनमा बोकेरै जान्छन् । तिनकै सुटकेसमा बसेर नेपाली संस्कृति, भाषा, चाडपर्व, देशको नाम र सुवास विश्व घुम्छ । आज बेलायतमा चल्ने बसले नेपालीमा सूचना प्रसारण गर्छ, अस्ट्रेलियाको सुपरमार्केटले नेपाली ब्राण्डको खाद्यवस्तु बेच्छ । अरू सबै आर्थिक सूचक निगेटिभ हुँदा पनि रेमिटेन्स बढेको बढ्यै छ । यहीँ बसेर भविष्य खोज्नेले त देशको सेवा गरि नै रहेका छन् । बाँझो खेत जोत्नु पनि सेवा नै हो । अलिकति विवेक, अलिकति धैर्य, अलिकति इमान, अलिकति जिम्मेवारीबोध सबैमा हुने हो भने एयरपोर्टको भीड दश गुना बढेर पनि देश बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *