काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले दल दर्ताको प्रक्रिया सुरु गरेका छन् । मंगलबार ‘कम्युनिष्ट पार्टी नेपाल’ नाम राखेर खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि विप्लव पहिलोपटक भाग लिन लागेका हुन् । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय सीमा यही कार्तिक ३० गतेसम्म तोकेको छ ।
दल दर्ताका लागि निवेदन दिएपछि पत्रकार सम्मेलन गरी पार्टीका प्रवक्ता प्रकाण्डले आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुने दाबी गरे ।
उनले भने, ‘निर्वाचन सहभागी हुने पहिलो दलको अभ्यास हाम्रो पार्टीको विधानमा नयाँ छ । त्यसकारण मैले यहाँ सबैको बीचमा यो दिन ऐतिहासिक हुनेछ भनेको हुँ ।’
विश्वकर्माले लोकतान्त्रिक आन्दोलनलाई पुनः सङ्गठित गर्दै मुलुकका विभिन्न कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यका लागि वार्ता भइरहेको बताए ।
उनले समाजवाद स्थापनाका लागि सिद्धान्तनिष्ठ सच्चा कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वको प्रश्नमा आफूहरु केन्द्रित रहेको पनि जानकारी दिए ।
विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि विप्लव समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो ।
