भारतमा विद्युतगृहको सुरुङमा फसेका कामदारको उद्दार प्रयास जारी

भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रायास जारी राखिएको छ । उत्तरी भारतको उत्तराखण्डको तपोवनमा भएको क्षतिग्रस्त जलविद्युत प्लान्टमा आइतवारदेखि नै श्रमिकहरूले रातदिन ढुंगा र माटो सफा गर्दै आएका छन् ।

बिहीबारसम्म हिमपहिरोमा परेका ३४ जनाको शव भेटिएको छ । हिमपहिरोका कारण अरु १७० भन्दाबढी हराइरहेका अधिकारीले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् ।

सरकारी अधिकारीले बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् । मृतक तथा बेपत्ता भएका भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल, बिहार, झारखण्डका रहेको जनाइएको छ ।

केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीको भनाइ छ । दुई वटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । धेरै जना उद्धारकर्मी सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् । भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् ।

तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ । विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरा बढी नै जान थालेको विज्ञले औंल्याएका छन् । सन् २०१३ मा आएको बाढीले छ हजार व्यक्तिको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *