काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरू हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र अमेरिका भिड्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शुरु हुनेछ ।
आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । हालै ओमानमा भएको आईसीसी टी-२० एसिया एण्ड इस्ट एसिया छनोट र दुबईमै टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध भएको टी-२० सिरिजको उपाधि जितेर उत्कृष्ट लयमा रहेको नेपाल एकदिवसीयमापनि सोहि लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ ।
विश्वकप लिग-२ मा खराब प्रदर्शनबाट गुज्रेको नेपाल यस सिरिजमार्फत पुनरागमन गर्ने लक्ष्यमा रहेको छ । लिगमा १६ खेल खेलेको नेपालले जम्मा ५ खेलमा जित निकाल्दा ९ खेलमा पराजित भएको छ । दुई खेल भने रद्द भएको थियो । नेपाल हाल १२ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहेको छ । जुन १६ खेलबाटै ६ अंक जोडेको युएई भन्दामात्र माथि हो । नेपालले यस सिरिजको सबै चार खेलमा जित निकाल्न सकेको खण्डमा नामिबियालाई पछाडि पार्दै छैटौं स्थानमा उक्लिनेछ । नामिबिया को २४ खेलबाट १९ अंक रहेको छ ।
ठिक विपरित अमेरिका २० खेलबाट २८ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यस सिरिजमा सबै अथवा मात्र दुई खेलमात्र जितेको खण्डमापनि अमेरिका स्कटल्याण्डलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिनेछ । हाल स्कटल्याण्ड २४ खेलबाट ३० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।
विश्वकप लिग दुईमा अमेरिका उत्कृष्ट लयमा रहेको छ । अमेरिकाले पछिल्लो दुई त्रिकोणात्मक सिरिजमा ६ जित र दुई हारको नतिजा निकालेको छ । गत संस्करणको अन्तिम १२ खेलमा ११ जित निकाल्दै शानदार पुनागरामन गरेको नेपालले यसपटक भने सोहि लयलाई निरन्तरता दिन सकेन । शुरुवाती दुई सिरिजमा मात्र एक खेल जितेको नेपालले त्यसपछिको सिरिजमापनि मात्र एक जित निकाल्न सक्यो । गत जुनमा स्कटल्याण्ड र नेदरल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले चार खेलमा तीन जित र एक हारको नतिजा निकाल्दै पुनरागमनको सङ्केत देखाएको थियो ।
त्यसैले नेपाल यस सिरिजमार्फत पुगनारागमनको पर्खाइमा रहेको छ । तर अमेरिकाको विरुद्धको पछिल्लो केहि खेल नेपालको लागि सम्झनलायक छैन । नेपाल र अमेरिकाबीच हालसम्म ९ एकदिवसीय खेल हुँदा दुवै टोलीले ४/४ खेल जितेका छन् भने एक खेल बराबरीमा टुंगिएको थियो । दुई टोलीबीच भएको पछिल्लो पाँच खेलमा नेपालले मात्र एक खेल जित्दा अमेरिकाले तीन खेल आफ्नो पक्षमा पारेको छ । त्यसैले नेपाललाई आजको खेलमा बदला लिने अवसरपनि रहेको छ ।
नेपाली टोली:- रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजवंशी
