खोटाङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौँलाई नजिक बनाएको बताएका छन् ।
विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आएका उपाध्यक्ष कँडेलले दिक्तेलमा आयोजित पत्रकार भेटघाटमा पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकै दिनमा काठमाडौँ आउजाउ गर्ने वातावरण बनेको बताए ।
उपाध्यक्ष कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिलाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
उनले जिल्लामा सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जिल्लावासीको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्रीको पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–खचेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्नेगरी काम भइरहेको बताए ।
