काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताएका छन् ।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले दीपावलीको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रचण्डले निर्वाचनबाट आउने नयाँ संसदले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्ने बताएका हुन् ।
उनले जनताको अपेक्षा पूरा गर्न आफूहरु तयार रहेको पनि बताए । अध्यक्ष प्रचण्डले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताउँदै भने, ‘निर्वाचन नगरीकन देशमा अर्को अराजकता आउन सक्छ। त्यसैले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी छ।’
प्रचण्डले संसद पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनस्र्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताए। उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा संसद विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो। अहिले उनीहरुकै समूहले संसद्को कुरा गर्नु विडम्बनापूर्ण हो ।’
उनले अन्तरिम सरकार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गठन भएको बताए । प्रचण्डले हालको सरकार ‘हाहा–हुहु’मा बनेको भन्ने टिप्पणी झुटो भई ओलीकै सिफारिसमा बनेको दाबी गरे ।
उनले भने, ‘मैले पहिले पनि भनेको छु–यो सरकार पहिलेका प्रधानमन्त्री केपी ओली काम चलाउ प्रधानमन्त्री भएको बेलामा ओलीकै सिफारिसमा बनेको सरकार हो हाहाहुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन् ।’
उनले राष्ट्रपतिलाई अन्तरिम सरकार गठनका लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलिरहेको भन्दै सिफारिसको चिठी हेरेको पनि बताए ।
उनले भने, ‘हामीले उहाँले पठाएको चिठी हेरेका थियौं । राष्ट्रपतिलाई अन्तरिम सरकार गठनका लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलेर हुँदैन् ।’
उनले अन्तरिम सरकारको काम निर्वाचन गराउने भएकाले त्यसलाई छाडेर अर्को नारा उठाउन थाले देशमा अराजक दुर्घटना निम्ताउने बताए ।