यो त्रासदीपूर्ण अवस्थाको फाइदा लिएर राजनीति सेक्ने कुराको विरोध हुनुपर्छ

-डा. युवराज संग्रौला ।

सेप्टेम्बर ९ तारिखका दिन देशले एउटा त्रासदीको समना गर्यो । यो जेनजी आन्दोलनको आडमा गरिएको आपराधिक मानसिकता, राष्ट्रविरोधी नियत र नेपालको स्वतन्त्रता र स्वतन्त्रतामाथिको आक्रमणको योजनाबाट गरिएको त्रासदी थियो । क्षतिका दृष्टिकोणबाट यो २०७२ भूकम्पको क्षति भन्दा अधिक ठूलो छ भन्ने कुरामा विवाद छैन, र यसले नेपालले अस्तित्वका दृष्टिकोणले भविष्यमा एउटा चुनौतीप्रति संकेत गर्दछ । मैले ८ र ९ तारिखका घटनालाई पृथक गरेर हेर्नुपर्छ भनेको थिएँ । ८ तारिखका दिन जेनजी भनिएका नेपालका किशोर वा नवयुवाहरुले ‘भ्रष्टाचार ग्रस्त शासकीय स्वरुप’ का विरुद्ध गरेको आन्दोलन थियो, त त्यो शान्तिपूर्ण आन्दोलनले त्यसदिन १ बजेपछि गरिएको युवाहरूको कत्लेआम पछि सरकार विरुद्धको विद्रोहमा परिणत भयो । सरकारले राजीनामा गर्यो र नागरिक सरकारको गठनको बाटो खुल्यो ।

तर अर्कापटी ९ तारिखका दिन देश जल्यो । छानीछानी राज्यका ‘दस्तावेजहरु नस्ट गरिए, वा चोरिए । जनताका धन सम्पत्तिका अभिलेख रहने मालपोत र नगरपालिका जलाइए । मन्त्रालय, र संसद भवनहरु जलाइए। सरकारी गाडीहरु जलाइए । अदालत भवन र मिसिलहरु जलाइए र राष्ट बैंक जलाएर राष्ट्र सम्पूर्ण धन जलाउने प्रयास भयो । यो ८ तारिख मारिएका युवा आन्दोलनकारीको हत्याको बदलामा स्वस्फूर्त उठेको आन्दोलनमात्र थिएन । यस आन्दोलनभित्र छिरेर देश ध्वस्त पार्ने योजना पनि सामेल थियो ।

१. विदेशी सन्डे गार्डियन र न्युयोर्क टाइम्सका लेखहरु पछि नेपालीका संकथन बदलिन थालेका छन् । त्यसबेला ८ र ९ तारिखका दिनका आन्दोलनलाई पृथक गर्नुपर्छ भन्दा मलाई धेरैले गाली गरे । तर विदेशी पत्रिकाले ‘९ तारिखका घटना स्वस्फुर्त थिएनन् भनेपछि अहिले भिडियो र टिभी कार्यक्रम बन्न थाले । यो मानसिकताले नेपाल अहिले पनि अपरिपक्क जनताको देश हो भन्ने देखाउँछ ।

२. घर जल्दा आन्दोलनकारी बार्दलीबाट चढेर पहिला झ्याल खोल्थे, बोतलबाट पेट्रोल छर्कन्थे, कोठामा गएर कम्युटरका हार्डडिक्स निकाल्थे, कागज खोज्थे र त्यसपछि आगो लगाउँथे । अहिले उल्लेखित पत्रिकाले लेखे यी अपराधिक प्रवृत्ति र पूर्वयोजनाका प्रमाण हुन् । तर ‘हिजो मानिसको ज्यान भन्दा त घर ठूला होइनन् नि भन्ने’ भावनात्मक संकथन निर्माण गरेर मानिसलाई बोल्न बाट रोकियो, किनकी बोल्दा धम्की आउँथे ।

३. यी घटना एकातर्फ राष्ट्रलाई ध्वस्त पार्ने खेल थिए र अर्कातर्फ ‘युवाहरूको आन्दोलन तुहाएर राज्यलाई परिवर्तनको बाटोमा जान रोक्ने षड्यन्त्र थिए ।’

नेपालले ७० वर्षमा कहाँ पुग्नु थियो, तर आजपनि यसका खुट्टा बाँधिएका छन् । भूराजनीति फन्दा झैं कसिँदैछ। राजनीतिक दलहरूले नवसामन्तवादको स्थापना गरे । संस्कृतिको शिरक्षेदन गरे । कर्मचारीतन्त्रलाई भ्रष्ट बनाए । राष्ट्रका धर्ममाथि आक्रमण गर्ने ढोका खोलिदिए र नागरिक पलायनको राजमार्ग बनाइदिए । यी सबै अपराधको छानबिन हुनुपर्छ र राष्ट्रमाथि घात गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अतः अब भन्नैपर्छ, ९ तारिखका दिन भएको राष्ट्रमाथिको अपराध र हतियार लुटिएका घटनाको अनुसन्धान हुनुपर्छ । निर्वाचन हुनुपर्छ र देशभक्त शक्तिको एकीकरण हुनुपर्छ । यो त्रासदीपूर्ण अवस्थाको फाइदा लिएर राजनीति सेक्ने कुराको विरोध हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *