टी-२० विश्वकप छनोटको अन्तिम खेलमा नेपाल र सामोआ भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत आज हुने अन्तिम खेलमा नेपाल र सामोआ भिड्दैछन् । अल अमेरात क्रिकेट मैदान ओमान क्रिकेट मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समय अनुसार ४:१५ बजे शुरू हुनेछ ।

दुई खेल अगावै विश्वकपको लागि छनोट भइसकेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगिताको उपाधि जित्ने लक्ष्य साथ मैदान उत्रिनेछ । नेपाल प्रतियोगिताको अपराजित एक्लो टोली हो । हाल नेपाल चार खेलबाट ८ अंक जोड्दै सुपर सिक्सको शीर्ष स्थानमा रहेको छ । बुधबार राति भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको थियो ।

हाल ओमान तेस्रो र युएई दोस्रो स्थानमा रहँदै टी-२० विश्वकपको लागि छनोट भइसकेका छन् । आज सामोआलाई हराउन सकेको खण्डमा नेपालले १० अंक जोड्दै प्रतियोगिताको उपाधि जित्नेछ ।

सन् २०२३ मा घरेलु मैदानमा भएको टी-२० विश्वकप एसिया छनोटको फाइनल खेलमा ओमानसँग सुपर ओभरमा पराजित हुँदै उपाधिबाट वन्चित भएको नेपाल यसपटक कुनै गल्ती गर्ने पक्षमा छैन ।

यता सामोआ भने आजको खेलमा सान्तवना जितको खोजीमा हुनेछ । समूह चरणको खेलमा पीएजीलाई हराएको सामोआ सुपर सिक्सको सबै चार खेलमा पराजित हुँदै तालिकाको पुछारमा रहेको छ । सामोआसँगै जापान र कतार सुपर सिक्सबाट बाहिरिसकेका छन् । त्यसैले सामोआ आज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

आजै हुने अर्को खेलमा घरेलु टोली ओमान र जापान भिड्नेछन् । खेल नेपाली समय अनुसार दिउँसो ११:४५ बजे शुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *