टी-२० विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्रशान्त छनोट अन्तर्गत भएको खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार बेलुकी भएको खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो ।

जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि आसिफ शेखले ३८, गुलसन झाले २८, कुशल भुर्तेलले २१ र कप्तान रोहित पौडेलले १८, दीपेन्द्र सिंह एरीले १४ रन बनाए ।

जापानको लागि शोमा स्लाटरले दुई तथा रियो साकुरानो थोमस, सबारिश रविचन्द्रन र डेक्लान सुजुकीले समान एक/एक विकेट लिए ।

यसअघि अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । जापानको लागि केन्डेल काडोवाकी-फ्लेमिङले अर्धसतक बनाए । उनले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६० रन प्रहार गरे । यस्तै इसाम रहमानले ३१ र बेन्जामिन इटो-डाभिसले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि गुलसन झा र सन्दीप लामिछानेले दुई/दुई विकेट लिँदा सोमपाल कमी र नन्दन यादवलेपनि समान एक/एक विकेट लिए ।

जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । समान खेलबाट दुई अंक जोडेको कुवेत दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *