-ऋषि कट्टेल ।
नेपालको राजनीतक क्षेत्र जेनजीमय भएको छ । कसैले यसलाई क्रान्ति भनेका छन्, कोही विद्रोह भन्दछन् । स्वतःफूर्त वा प्रायोजित, अकस्मात वा योजनावद्ध, स्वार्थ समूहको टकराव वा अस्थिरतावादीको कसरत आदि आदि । वास्तवमा हो के ? केही हैन सामान्य घटना भन्न मिल्ने अवस्था छैन । दर्जनौं नागरिक हताहत भएका छन् । खर्बौंको राष्ट्रिय सम्पत्तिको क्षति भएको छ । एउटा निर्वाचित सरकार मिल्किएको छ र अर्को मानोनित सरकार बनेको छ । अर्थात् यसले यथास्थितिको प्रायः सबैकुरा ध्वस्त पारेको छ । यसकारण यसलाई हेर्ने र बुझ्ने कुरामा सही दृष्टिकोण बनाउनु जरुरी छ ।
यसलाई आन्दोलन, विद्रोह वा जेनजी भाषामा प्रोटेस्ट भनिएको छ । त्यसकारण यसलाई प्रोटेस्ट भन्नु उपयुक्त हुन्छ । प्रोटेस्ट कसको विरुद्ध ? सरकार विरुद्ध । यसकारण यो प्रोटेस्ट किन ? मोजुदा सरकार ढालेर अर्को सरकार बनाउन । यसको जग प्रतिक्रियादी राज्यसत्ता ध्वंस गरेर जनताको राज्यसत्ता बनाउने हैन । यो त प्रतिक्रियावादी राज्यसत्ता भित्र बढ्दै गएको शत्रुतापूर्ण अन्तरविरोधको परिणति हो ।
यही अन्तरविरोधको आडमा एउटा पुरानो बदनाम नोकर वदलेर अर्को आफ्नो नयाँ पपेड तयार गर्ने, देशलाई नियन्त्रित अस्थिरतामा धकेल्ने र रणनीतक कृडास्थल बनाउने विदेशी प्रतिक्रियावादीको प्रायोजित षडयन्त्र हो । उद्देश्य के थियो भन्नेकुरा परिणामले निर्धारित गर्दछ । परिणाम के आयो ? ओली सरकार गयो सुशीला सरकार आयो ।