काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी पुस्ताले आगामी दिनमा गर्ने भनिएको विरोध प्रदर्शनमा धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
बुधबार विज्ञप्ति जारी गरी आयोगले आगामी दिनमा हुने प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन सरकार, राजनीतिक दल र विभिन्न समूहलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘विकसित परिस्थितिमा शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदमहरु चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोग राजनीतिक दल र समूहलाई आग्रह गर्दछ ।’
साथै, मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेनजी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन, विकसित परिस्थितिमा विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरुबाट अभिव्यक्त विचार र त्यसबाट शान्ति सुरक्षामा पार्न सक्ने प्रभाव तथा मानव अधिकारको उपभोगमा आउनसक्ने अवरोधका घटनाहरुलाई आयोगले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, गत भदौ २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई तीव्रता दिनुका साथै विकसित परिस्थितिको अनुगमन गर्ने र सम्बन्धित निकायबाट तथ्य विवरण सङ्कलन गर्ने कामलाई आयोगले निरन्तरता दिइरहेको पनि बताएको छ ।