प्रज्जवल थापा । इटालियन च्याम्पियन युभेन्टस कोपा इटालियाको फाइनलमा पुगेको छ । मंगलबार राति भएको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा युभेन्टस इन्टर मिलानसँग गोल रहित बराबरी खेल्दै फाइनलको टिकट काटेको हो ।
सान सिरोमा भएको पहिलो लेगमा युभेन्टसले इन्टरलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । समाग्रमा २-१ गोलको जित निकाल्दै युभेन्टस फाइनल पुगेको हो । एल्लिनाज एरिनामा भएको दोस्रो लेगमा निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसक्दा इन्टर पराजित हुन पुग्यो । इन्टरलाई जितको लागि कम्तिमा दुई गोलको आवश्यकता रहेको थियो । खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन सकेनन् ।
नवौं मिनेटमा युभेन्टसको लागि रोनाल्डोले गरेको प्रहारमा इन्टरका गोलरक्षक हान्डानोभिक बाधक बने । २५ औं मिनेटमा इन्टर मिलानका इरिक्सनको फ्रिकिकमा लुकाकुको हिडिङ पोस्ट नजिकैबाट बाहिरियो । ३३ औं मिनेटमा इन्टरका ब्रोजोभिकले गरेको ससक्त प्रहार बुफनले बचाउ गरे । ४३ औं मिनेटमा रोनाल्डोको प्रहारलाई हान्डानोभिकले बिफल पारे ।
५२ औं मिनेटमा इन्टरका हकिमिले हानेको बल पोस्ट माथिबाट बाहिरियो । ६४ औं मिनेटमा रोनाल्डोको प्रहारलाई हान्डानोभिकले उत्कृष्ट बचाउ गरे । यससँगै अब युभेन्टसले उपाधिको लागि नापोली र एटलान्टाबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
