-सूर्य थापा ।
सुशीला कार्की, बालेन साह, डा. शेखर कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, रवी लामिछाने, गगन थापा, डा. बाबुराम भट्टराई र (अरू दुई जना ??) गरी नौ जनालाई भदौ २३ र २४ को सेरोफेरोमा प्रधानमन्त्रीको लालीपप बाँडिएको रहेछ। ती सबैजनाले मनमनै अब मलाई नै प्रधानमन्त्री बनाइनेछ भनिरहेका थिए र मनमनै दंग पनि थिए ।
अहिले त गगनलाई शेखरले रोके भन्ने पिरलो छ, शेखरलाई अमेरिका पो हावी भयो भन्ने पिर लागेको छ । प्रचण्डले नख्खु जेल पुगेरै रवीलाई भेट्दा दुब्लाउनुभएछ विचरा भन्दै गोहीका आँसु झारेको यसै थिएनन् । बरू छानीछानी एमालेका पार्टी कार्यालय र नेतृत्वका घर आगजनी गर्ने अघोषित कार्यगत एकताको सुलह त्यहीं भएको थियो । बालेनलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला ’नभएको भनिएको धोकाधडी’मा उत्तेजित नबनोस् भनेर मात्रै थियो । गैरजेनजीले आन्दोलनलाई लुटमार गरेकै छ, देश खरानी पार्ने शिखण्डी त्यही लालची पदलोलुपताकै परिणामस्वरूप बनेको हो । यसरी सबलाई यस खालको राज्य बितण्डा र विप्लवको प्लटिङ जानकारी रहेको र सामेल गराइएको थियो भन्ने जानिफकारहरू आज सर्वत्र मौजुदा रहेका छन् ।
सबैको आक्रोश केपी शर्मा ओलीप्रति सयथरि प्रहार एउटै निशानाका रूपमा सोझाइएको प्रष्ट थियो। प्रचण्डलाई २० महिना प्रधानमन्त्री भएर पनि भोक मेटिएको थिएन । डा.शेखर देउवासँग बदला लिन कताकता भौतारिइरहेका थिए/पुगे ? गगनले सरकार संचालनको संयन्त्र नै बहिस्कार गरेर घृणाको स्रोत बन्दै बगावत गरे । रवीले १५ हजार कैदीबन्दी जेलबाट भगाएर सिंगो समाजलाई अपराधिकरणको भयमा धकेल्ने अपराध नै गरे । जेलमुक्तिको कीर्ते पूर्जी बनाएर नख्खुबाट भाग्नसक्ने अभियुक्तले अरू के नै गर्न बाँकी राखेका छन् र ? उनी प्रधानमन्त्री बनिहाल्छु भनेर फिल्मी शैलीमा जेलबाट भागी घर पुग्न हतारो गरेको कारण सामान्य कदापि थिएन । सुशीलालाई घाइतेहरू भेट्न घरबाट निकालेर अस्पतालसम्म पुर्याउने योजनाबद्ध काम त्यही गिरोहको नै थियो ।
७० काटेका व्यक्तिहरूलाई जेनजी बनउने नेपथ्यको निर्देशक पनि त्यही नै थियो । सुदन गुरूङलाई २३ गते पानी बाँड्न पठाउने, शीतलनिवासमा वार्ता गर्न पुर्याउने र दलाई लामाको बधाई सन्देश सुशीलालाई पठाउने एउटै शक्ति थियो । केपी शर्मा ओलीमाथि हमला गर्ने सबको एउटै, साझा र प्रमुख निशाना थियो, शेरबहादुर देउवा माथिको कुटपिट र दुव्र्यवहारचाहिँ बडो ओलीको साथ नछाड्ने भनेर गरिएको सहायक प्रपञ्च मात्र थियो । घटनापछि पार्टीको वक्तव्यमा देउवाको स्वास्थ्यलाभको कामनासम्म नगरी जारी गर्ने पदाधिकारीहरूले त्यसमा आफ्नो हविगत स्पष्ट गरिसकेकै छन् । जेनजीलाई त फगत मोहरा र बहाना मात्र बनाइएको थियो भन्ने मिराज ढुंगानाले भोगिरहेका छन् ।
खासमा यो ड्रामा एक थियो र पात्र अनेक परिचालित थिए भन्ने अनेक तथ्य र स्रोतहरू उपलब्ध छन् । आफ्नो तुच्छ पदलोलुपता तृप्तीको लागि देशमा आगोको कारोबार गरेर खरानीको छारो उडाउन तयार धेरैको अभिनय र अभियन्ता–कर्म अब उदाङ्गो भइसकेको छ । केही कुरा गोप्य र लुकेको पनि छैन ।