पौवादुङमा प्रभावकारी बन्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रम

भोजपुर । भोजपुरको  पौवादुङमा गाउँपालिकाले सञ्चालन गरेको ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

गाउँपालिकाले यहाँ जन्मिएका शिशुहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न पाँच वर्षसम्म नियमित रु ५०० वितरण गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार प्रत्येक बालबालिकाका लागि बैंकिङ प्रणालीमार्फत रकम जम्मा गरिने व्यवस्था मिलाइएको छ ।

बालबालिकाको भविष्य सुनिश्चितताको लागि गाउँपालिकाले आव २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममार्फत यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । बालबालिकाको उज्ज्वल भविष्यसँगै सक्षम भावी पुस्ता निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको कार्यक्रम प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

यससँगै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पनि विभिन्न कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रसूतिगृहबाट ‘रेफर’ गरिएका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा नवजात शिशुहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *