सिंहदरबारको पूर्वीखण्ड प्रबलीकरण यसै हप्ता सकिँदै

काठमाडौं। २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक भवनमध्ये सिंहदरबारको पूर्वी भाग प्रबलीकरणको काम अन्तिम चरणमा पुगेको छ ।
तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण यही माघ भित्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) आयोजनाका इन्जिनियर रोशन यादवले जानकारी दिएका हुन ।

उनका अनुसार अहिले फर्निचर, फिनिसिङ्ग, इलेक्टिकका कामसँगै सरसफाईको काम भइरहेको छ । पूर्वी भागको प्रबलीकरणको काम आन्तरिक साजसजावटको काम पनि सकिन लागेको छ ।
पूर्वी भाग प्रबलीकरणका लागि फागुन ११ गते सम्मको अवधि भए पनि निर्माण कम्पनीले समयवधि अघि नै माघ मसान्तभित्रै भवन हस्तान्तरण गर्ने बताएको छ ।
यो भवन पुरानै मौलिकतामा र पुरानै आकारमा प्रबलीकरण गरिएको आयोजनाको भनाइ छ । भूकम्पका कारण क्षति भएको भवनका बाहिरका बुट्टालगायत नबिग्रिने गरी पुरानै आकारमा बनाइएको इन्जिनियर यादवले बताए ।
कोरोनाको समयमा पनि कामदारहरुलाई सिंहदरबार भित्रै राखेर काम भएको थियो । अहिले पनि विहान ६ बजे देखि राति १० बजेसम्म उक्त भवनको प्रबलीकरण काम भइरहेको छ । गौरी शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरिरहेको छ । गोरखापत्रबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *