सत्ता पतनको गैरमार्क्सयीय दृष्टि

-जेपी गुप्ता ।

‘उन्मत्त आपराधिक मानसिकताका ओली–देउवाले बुझेका थिए–प्रविधि मात्रले परिवर्तन ल्याउँदैन।’ प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली र संसारको इतिहासमा ‘ज्ञान तथा चेतनाको विस्तारको यात्रा’को बुझाइक बारेमा ठूलो द्वन्द्व थियो । प्रधानमन्त्रीकोरूपमा ओलीले चुकेका ठाउँहरू धेरै होलान्, म त्यताँ जान चाहन्न–एउटा बिषयमा मात्र केन्द्रित रहन चाहन्छु।
वर्षौ अघि, त्रिवि कीर्तिपुरमा रहँदा एउटा पुस्तक पढेको थिएँ । शायद, एलिजावेथ एल. ले लेखेको ‘द प्रिन्टींग प्रेस एन एजेण्ट अफ चेन्ज’ हुनुपर्छ। प्रेसको जन्मले युरोपमा ल्याएको बैद्धिक, धार्मिक र राजनीतिक परिवर्तनको गहन अध्ययन गरिएको थियो । चाखका साथ पढेको हुनाले यसका केही कुराहरू अझै याद रहेका छन् ।

पुस्तकमा उदृत एउटा सत्य कथा भनौं । चीनमा प्रेसको जन्म भएपनि एउटै ब्लकबाट धेरै प्रति छाप्न मिल्ने प्रेस मेशिनको आविष्कार सर्वप्रथम युरोपमा सन् १४५० मा जर्मनीका जोहानेस गुटेनवर्गले गरे । यसैलाई ‘गुटेनवर्ग प्रेस’ भनियो। इतिहासका शोधकर्ताहरू भन्छन् युरोपमा यसपछि मात्र एकाध व्यक्ति वा चर्च जस्तो संस्थासँग रहेको लिखित कुराहरू, दस्तावेजहरू छापिएर अरूहरूका समक्ष पुग्न लाग्यो । युरोपमा ज्ञान र विचार फैलन थालियो, पहिले पुस्तक धनी वा धर्मगुरुहरूको हातमा मात्र सीमित हुने अवस्था तोडियो । अब सामान्य मानिसले पनि पढ्न पाउने, बुझ्ने र प्रश्न सोध्ने मौका पाए । एक समय थियो, चर्चमा प्रश्नकर्ताले ‘कन्फेसन्स’ गराउने पादरीको अनुहार हेर्न पाउँदैनथे । पादरीले बोलेका कुरा मान्नु पर्दथ्यो । अब दोहोरो संवाद हुने भयो ।

यसको करिब ६–७ दशक पछि, सन् १५१७ मा जर्मनीकै एक पादरीले ९५ वटा प्रश्नहरू छपाएर एउटा ठूलो पर्चाको रूपमा क्याथोलिक चर्चको ढोकामा टाँसेर सोधिएका बिषयहरूका जवाफका लागि चर्चलाई चुनौती दिए । यतिन्जेल चर्चसँग कसैको पापका मात्राको मूल्यांकन गरेर सो पाप गरे बापत क्षमा दिने वा ‘क्षमा बेच्ने’ अधिकार थियो । यी थिए– पादरी मार्टिन लुथर । यस इतिहासलाई जानेर आज धेरैलाई आश्चर्य लाग्ला कि त्यसबेला चर्चले ‘इन्डल्जेन्स’ अर्थात् ‘पाप मिनाहा दिइएको प्रमाण पत्र’ बेच्दथ्यो। पादरी मार्टिन लुथरले यस उपर कडा प्रहार गरेर, प्रश्न सोधेर युरोपीय पुनर्जागरणको शुरूवात गरे यसलाई ‘प्रोटेस्टान्ट सुधार आन्दोलन’ भनियो । त्यो एउटा नयाँ युगको घोषणा थियो । तर, लुथरका ९५ प्रश्नहरूबाट क्याथोलिक चर्च अझ बढी असहिष्णु भयो, लुथरलाई बहिष्कार गरियो । यहाँ मेरो उद्देश्य युरोपमा प्रोटेस्टान्ट आन्दोलनका बारेमा बताउनु होइन । अपितु भन्न चाहेको हुँ कि मानव इतिहासमा कहिलेकाहीँ स–साना तर साहसी कदमहरूले कसरी सम्पूर्ण सभ्यता बदलिदिन्छन् ।

यहाँ बढी बिचारणीय कुरो के छ भने यस घटनाले कालान्तरमा आधुनिक राष्ट्र–राज्य, व्यक्तिगत अधिकार, र पूँजीवादी अर्थतन्त्रको जन्मलाई प्रेरणा दियो। विचार विकासको क्रममा यस यात्राको अर्को रोचक पक्ष छ, जुन शेरबहादुरहरूले त कहिल्यै पढ्नै पाएनन् होला । औपचारिक शिक्षा नपाएका देउवा पछिका पुस्ताकै ओलीहरूले पनि यो मौका नपाउनु नितान्त स्वभाविक हो।

हामीले भने पढौं, यस्ता कुराहरू पढ्नै पर्छ । यी घटनाक्रमहरूले इतिहासको अर्को पक्ष पनि देखाउँछ । पूँजीवादको जगमा जन्मिएको समाजभित्रै शोषण र असमानताको संरचना बनेको कुरा । यही वास्तविकताबाट प्रेरित भई १९औँ शताब्दीमा कार्ल माक्र्सले पूँजीवादका बिरूद्ध गहिरो प्रश्न उठाए । यसरी, लुथरको विद्रोही चेतना र माक्र्सको आलोचनात्मक दृष्टि—दुवै एउटै धारा, अर्थात् अन्यायको विरुद्ध प्रश्न गर्ने संस्कृतिका निरन्तरता हुन्न। जुन अहिलेका सर्वाधिक चर्चित “जेन्जी” भनी चिनिने नेपाली नवयुवाहरूसम्म पनि आइपुगेको हो । मोरङ कलेजमा पढ्दाको बखत ‘हर्वर्ट मक्र्युज’ले लेखेको एक पुस्तक पढेको थिएँ, युग भयो। कम्युनिष्टहरूले आफ्नो सत्तालाई जोगाउन सिद्धान्तलाई शक्ति संरचनामा कसरी उपयोग गर्छन् मक्र्युजले शानदार विश्लेषण गरेका थिए। अब त्यसको थोरै सम्झना छ । यद्यपि, संसारकाझैं यहाँका ओलीहरूले यसलाई बिर्सेनन्।

आज हामी डिजिटल युगमा छौँ । प्रेसको ठाउँ इन्टरनेटले लिएको छ, र विचार फैलिन सेकण्डमै सम्भव छ। यहाँ ओलीले सामाजिक संजालहरूलाई प्रतिबन्ध लगाए । उनी बिरोधबाट निश्चिन्त हुन चाहेका थिए । यद्यपि ओली, उनका संचारमन्त्री तथा तिनका सल्लाहकारहरूलाई डिजिटल संचार माध्यमको अवरोधहीन व्यापकताको ज्ञान नै भएन । एकाध दर्जन सामाजिक संजाललाई प्रतिबन्धित गरियो । इन्टरनेट भने चालु नै थियो । भिपीएन पावरहरूको निर्बिघ्नता यिनीहरूका समझ भन्दा बाहिरको बिषय थियो । जतिखेर नेपालमा सामाजिक संजाल बन्द गरियो, त्यस तीन दिनमा भिपिएनको ट्राफिकमा ६,००० प्रतिशतको वृद्ध रेकर्ड गरियो। स्वीट्जरल्याण्डका प्रोटोन भिपिएनले लेख्यो ‘प्रतिबन्धको पाँचौं दिनसम्ममा नेपालको भिपिएन ट्राफिकमा ८,००० प्रतिशतले वृद्धि भयो।’

टिकटक जो खुला थियो, यस्तै संचालनमा रहेका अरूहरूको ट्राफिक समेतलाई विचार गर्दा सरकारले लगाएको प्रतिबन्ध पुरै प्रभावहीन भैसकेको थियो । उता बेखबर सरकार आफ्नो आकार भन्दा ठूलो चिहान खन्नमा व्यस्त थियो । तर मूल प्रश्न उही छ—के हामी शासनमा रहँदा प्रश्नहरूका जवाफ दिई रहेका हुन्छौं ? आजका ‘जेनजी’ पुस्ता नवयुवा मात्र होइनन् । यिनीहरू तीव्र संचारक पनि हुन् । प्रविधिको सचेत प्रयोग गर्दै यिनले आफ्ना विचारलाई डिजिटल सन्देश, टुलकिट आदिमार्फत सामान्य मानिसको जीवनमा प्रवेश गराए । यसरी यो आन्दोलन केवल सचेतनाको बिषय रहेन। सत्ता तथा राज्य प्रणाली बदल्ने ‘ब्रान्डेड आन्दोलन’को रूप लियो। उन्मत्त आपराधिक मानसिकतामा छिरिसकेका ओली–देउवाहरूले बुझेका थिए–प्रविधि मात्रले परिवर्तन ल्याउँदैन, तर जसले त्यसलाई प्रयोग गरिरहेको थियो उसको रणनीति र साहस उनले, देउवाहरूले बुझ्न सकेनन्।

नेपालका कम्युनिष्टहरू इतिहास पढ्ने दावा त गर्छन्, तर संचारको इतिहास बुझ्नेमा अनपढ छन् । गुटेनवर्ग प्रेसले देखाएको एउटा पाठ स्पष्ट थियो–विचारलाई रोक्नु हुन्न, उसलाई फैलिन दिएपछि मात्र इतिहासले बाटो पहिल्याउँछ । मार्टिन लुथरले यही बाटो प्रयोग गरेर चर्चको बलियो गढ भत्काए । पूँजीवादले प्रेसलाई आफ्नो पक्षमा मोडेर शक्तिशाली बनायो। माक्र्सले पनि संचारलाई वर्ग–चेतना जगाउने हतियार बनाए । नेपालका कम्युनिष्टहरू मात्र होइन, संसारका धेरै कम्युनिष्ट पार्टीहरूले यही पाठ बुझ्न चुके । उनीहरूले संचारलाई नियन्त्रण गर्ने ‘साधन’ ठाने, न त डिजिटल लहरलाई आत्मसात् गर्न सके, न त नयाँ पुस्ताको चेतनालाई पढ्न सके ।

मुर्ख कम्युनिष्टको रूपमा ओलीले यही सूत्रको उल्टो व्याख्या गरे । उनले आफूपछि सत्ता पर्खेर बसेका लोभग्राही देउवालाई सम्झाए–’संचार जनताको बीच विचार फैलाउने माध्यम होइन, सत्तालाई सुरक्षित गर्ने पर्खाल मात्र हो।’ त्यसैले उनीहरूले प्रिन्टमा कठोर नियन्त्रण, रेडियो–टिभीमा एकाधिकार, अनि अहिले डिजिटल प्लेटफर्ममा प्रतिबन्ध लगाउने बाटो रोजे । यसो गर्दा तत्काल सत्ता सुरक्षित भएको जस्तो देखिए पनि, दीर्घकालमा यसले जनताको विश्वास टुटाउँछ। नयाँ पुस्ता—विशेषतः डिजिटल पुस्ता—आवाज दबाएर बस्दैन । यही कारण नेपालका कम्युनिष्टहरूले संचारलाई दमन गर्ने प्रयास गरेर उल्टै विद्रोह र अस्थिरतालाई जन्माए । मेरो विचारमा, नेपालका कम्युनिष्टहरू, देउवा खाले कांग्रेसीहरूको असफलता केवल नीतिगत मात्र होइन, ऐतिहासिक दृष्टिकै असफलता हो । जसले संचारलाई नियन्त्रण गर्न खोज्छ, ऊ आफैं इतिहासको चक्रबाट बाहिर फालिन्छ। फालिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *