पर्सा निकुञ्जमा सेना परिचालन

बारा । पर्सा राष्ट्रिय निकुञ्जले सडक दुर्घटनाबाट वन्यजन्तुको ज्यान जोगाउन निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा नेपाली सेना परिचालन गरेको छ । निकुञ्जले ‘गति सीमित’ लेखिएको प्लेकार्डसहित नेपाली सेनालाई त्रिभुवन राजपथको पथलैया–अमलेखगन्ज सडक र पूर्वपश्चिम लोकमार्गको पथलैया–निजगढ सडकखण्डमा परिचालन गरेको हो ।
३ साताअघि सडकमा गुडेको जिपको ठक्करबाट निकुञ्जको पथलैया–अमलेखगन्ज सडक खण्डको आधाभारमा एक वयस्क पाटे पोथी बाघको मृत्यु भएपछि निकुञ्जले पथलैयाअमलेखगन्ज र पथलैया–निजगढ सडक खण्डमा वन्यजन्तुको सुरक्षाका लागि सेना परिचालन गरेको हो ।
निकुञ्ज संरक्षणका लागि बसेको नेपाली सेनाको सिद्धबक्स गणसँगको समन्वयमा निकुञ्ज प्रशासनले सेनाको २ वटा समूह बनाएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडकमा खटाएको हो । पर्सा राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत तथा सूचना अधिकारी रमेशकुमार यादवले निकुञ्जसँग जोडिएको हाइवे खण्डमा सेनाको २ वटा समूह परिचालन गरिएको बताए । सेना परिचालनपछि सवारीसाधनको गति सीमित हुने र सम्भावित दुर्घटना न्यूनीकरण भएर वन्यजन्तुको ज्यान जोगाउन सकिने उनले बताए ।
३ साताअघि सडक दुर्घटनामा बयस्क पाटे बाघको मृत्यु भएको भोलिपल्टदेखि नै आरक्षले सेनाको गस्ती थालेको हो । अर्को व्यवस्था नभएसम्म निकुञ्ज क्षेत्रभित्र पर्ने सडखण्डमा सेनाको २ वटा समूहले दिनहुँ गस्ती गर्नेछन् । वीरगन्ज भन्सार र औद्योगिक करिडोरबाट छुटेका मालवाहक तथा यात्रुवाहक सवारीसाधन अत्यधिक गतिमा गुड्दा पथलैयाअमलेखगञ्ज र निजगढ–पथलैया सडकखण्डमा वर्षेनी दर्जनौं वन्यजन्तुको ज्यान जाने गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म २ वटा दुर्लभसहित ७ वटा जनावरको सडकमै ज्यान गएको छ । यो तथ्यांक विगतका वर्षहरूमा निकै बढी हो । नेपाल समाचारपत्रबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *