अवैध भन्दै फेसबुक बन्द गर्ने निर्णय गरेर आफू चाहिँ चलाइरहने प्रधानमन्त्री र मन्त्रीहरुले यिनीबाट सिकुन्

-नारायण गाउँले ।

एकपल्ट बेलायतको आन्तरिक राजनीति कति कठोर र नैतिक छ भन्ने उदाहरण हेर्नुहोस् । जम्मा ४५ वर्षकी यी नेतृ केही मिनेटअघिसम्म बेलायतको उपप्रधानमन्त्री थिइन् । लेबर पार्टीको उपाध्यक्ष पनि थिइन् । भर्खरै यिनले एउटा फ्ल्याट किनेकी थिइन् । त्यो किन्दा तिर्नुपर्नेभन्दा कम ट्याक्स तिरेको खबर बाहिर आयो । खासमा ट्याक्सको व्यक्तिपिच्छे जटिल नियम र गणितले गर्दा उनी झुक्किएको देखियो ।

बेलायतमा पहिलो घर किन्दा, त्यो बेचेर अर्को घर किन्दा या एउटा राखेर दोस्रो घर किन्दा ट्याक्स (स्ट्याम्प ड्युटी) फरक-फरक  छ । पहिलोपल्ट किन्दा एकदम कम छ । त्यो बेचेर बस्नकै लागि अर्को किन्दा जम्मा एउटा घर हुने भए पनि कर अलि बढ़ी छ । र एउटा हुँदाहुँदै अर्को किन्दा त्यसलाई व्यवसाय मानेर बढी कर तिर्नपर्छ ।

घर किनबेचको काम व्यक्तिगत रूपमा नभई एजेन्ट र वकिलमार्फत हुन्छ । वकिलले नै लाग्ने कर र शुल्कबारे जानकारी दिने चलन छ । प्रायः सबै रकम वकिलकै खातामा जम्मा हुन्छ । ब्याङ्कले लोन दिए पनि त्यो तपाईंको निजी खातामा नआई वकिलकै खातामा आउँछ । उसैले करको हिसाब गर्ने चलन छ । किनबेच सकिएपछि वकिलले लोन तिर्नुपर्ने जति कटाएर बेच्नेको खातामा पैसा हालिदिन्छ । धेरैलाई कर र शुल्कबारे ज्ञान हुँदैन । वकिलकै जिम्मा हुन्छ ।

एन्जेला रेनर्ससँग आफ्नो नाममा अर्को घर थिएन । त्यसैले उनले किन्न लागेको घर नै एउटा मात्रै घर हो भन्ने कोलममा टिक लगाइन् । वकिलले सोही अनुसार करको दर गणना गरे । उनले त्यही गणना अनुसार कर तिरिन् । तर भयो के भने, दुई वर्षअघि डिभोर्स हुनुअघि दुबैको नाममा घर थियो । डिभोर्स हुँदा त्यो घर शारीरिक रूपले अशक्त छोराको नाममा नामसारी भयो । किनकि उक्त सन्तानको देखभाल खर्चिलो र दुबैको कर्तव्य थियो । बच्चै भएकाले ट्रस्ट बनाएर बच्चाको नाममा घर राखियो । उनले आफ्नो भागको अंश पनि छोराको ट्रस्टलाई बेचेकी थिइन् ।

तर, बेलायतको जटिल कानुन यहाँनिर उनको राजनीतिको पूर्णविराम बनेर आयो । छोराको नाममा भए पनि छोरो बच्चा भएको र नाबालक हुन्जेल त्यसको जिम्मा आमाबाबुकै भएकाले त्यो घर उनको नाममा नभए पनि उनकै मानिने भयो । यद्यपि चलाउन मिल्दैन । तर आफ्नो त भयो भयो । छोरो बालिग भएपछि बल्ल त्यो छोराको हुने भयो । उनले भर्खरै किनेको फ्ल्याट उनको एउटा मात्रै घर भएर पनि कानुनतः दोस्रो घर देखिन आयो । दोस्रो घरको कर त धेरै तिर्नपर्ने हुन्थ्यो ।

सर्वसाधारण भएको भए यो सामान्य गल्ती हुन्थ्यो र अलिकति थप कर तिरे पुग्थ्यो । तर नेताले कानुन राम्ररी नबुझ्नु क्षम्य हुने कुरो भएन । मलाई थाहा थिएन भनेर यहाँ उम्किन मिल्दैन । बाँकी कर त उनले तिर्ने बताएकै छन् तर यो ढिला भयो । कर भन्दा पनि नैतिकताको प्रश्न भयो । उनले अन्ततः सरकार र पार्टी दुबैबाट राजीनामा दिइन् । यहाँको अभ्यास अनुसार एकपल्ट राजीनामा दिएपछि संभवतः उनको राजनीति सकियो ।

हामीकहाँ आफै कानुन बनाएर आफै त्यसलाई तोड्ने हो भने मात्रै नेता भइन्छ । लकडाउनको बेला बालुवाटारमा र्याली थियो । बालुवाटारजस्तो मुटुमा जम्मा ४ लाख आनाको मूल्य देखाएर अलिकति मात्रै राजश्व तिरेर भूमाफियाबाट जग्गा किन्नेहरू आज कहाँ छन् भन्न परेन । अवैध भन्दै फेसबुक बन्द गर्ने निर्णय गरेर सरकारकै मन्त्रीले फेसबुक चलाई रहेकैछन् । टाउकोमा मुद्दा बोकेरै राजनीति गर्न छुट छ । घूसका अडियो नै सार्वजनिक भएकाहरू सुशासनको प्रशिक्षण दिन्छन् । आफ्नो नैतिकता कायम गर्न नसकेको भन्दै एउटा समितिबाट राजीनामा दिनेबित्तिकै अर्को समितिमा सभापति हुन्छन् ।

सम्पत्तिमा तुलना नहोला, इतिहासमा नहोला, शक्ति र प्रविधिमा नहोला तर नैतिकतामा त तुलना गर्न मिल्नुपर्ने हो । त्यसै पनि हामी पश्चिमा भन्दा बढ़ी नैतिक भएको दाबी गर्छौं । तर तपाईं पाखुरा सुर्किन आई हाल्नुहुन्छ, कहाँ बेलायतसँग तुलना गरेको भन्दै । यो तुलनाभन्दा पनि समाचार मात्रै हो । पढ्नुभयो भने सकियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *