एजेन्सी । कप्तान लियोनल मेस्सीले घरेलु मैदानमा खेलेको अन्तिम खेलमा दुई गोल गरेपछि अर्जेन्टिनाले फिफा विश्वकप-२०२६ अन्तर्गतको कोन्मेबोल छनोटमा जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा भेनेजुयलालाई ३-० गोलले हराउँदै अर्जेन्टिनाले शीर्ष स्थानमा आफ्नो पकड जमाएको हो ।
घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई र लौटारो मार्टिनेजले एक गोल गरे । खेलको ३९ औँ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई शुरूवाती अग्रता दिलाएका थिए । ७६ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
८० औँ मिनेटमा मेस्सीले व्यक्तिगत दुई गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको जित दिलाएका हुन् । जितसँगै अर्जेन्टिना १७ खेलबाट ३८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १८ अंक जोडेको भेनेजुयला सातौँ स्थानमा रहेको छ ।