फलेवासमा ‘गाउँघर क्लिनिक’ एकैसाथ निर्माण सुरु

पर्वत । बालबालिका र गर्भवतीलाई सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले फलेवास नगरपालिकामा एकैसाथ तीनवटा गाउँघर क्लिनिक निर्माण सुरु भएको छ ।

स्वास्थ्य चौकी र अस्पतालको पहुँचबाट टाढा रहेका बासिन्दालाई दृष्टिगत गरी फलेवास–७ लिमिठानामा ३ वटा गाउँघर क्लिनिकका भवन शिलान्यास गरिएका हुन् । फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले दुईवटा र उपप्रमुख शोभाकुमारी क्षेत्रीले एउटा भवनको मङ्गलवार शिलान्यास गरेकी छन् ।

गुड नेवर्स इन्टरनेसनलको आर्थिक सहयोग तथा नवचेतना सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा ४३ लाख रुपैयाँ लागतमा ३ वटै भवन आगामी ३ महिनाभित्र निर्माण सम्पन्न हुने भएका छन् ।

लिमिठानाका थाङ्ने, सिमलचौर र चिर्दिखोलामा भवन निर्माणका लागि एउटा मूल तथा ३ वटा स्थानीय उपभोक्ता समिति गठन गरिएको छ । तीन महिनामासमितिले भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने कार्ययोजना छ । गाउँघर क्लिनिकको भवन निर्माण भएर सेवा सुरु भएपछि ससाना बालबालिका बोकेर टाढाको स्वास्थ्यचौकी पुग्नुपर्ने यहाँका महिलाको बाध्यता हट्ने उपप्रमुख क्षत्रीले बताइन्। वडा नं ७ को तीनधारेमा स्वास्थ्यचौकी भवन भए पनि अपायक र टाढा पर्ने भएकाले छरिएर रहेका वडाका महिला तथा बालबालिकाले गाउँघर क्लिनिकबाट प्रत्यक्ष सेवा प्राप्त गर्ने उनी बताउँछिन्।

गाउँघर क्लिनिकबाट मासिक रूपमा बालबालिकालाई प्रदान गरिने खोप, गर्भवतीको स्वास्थ्य जाँचका साथै निःशुल्क भिडियो एक्सरे सेवा र बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तर्गत वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख तिवारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *