पथरी (मोरङ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार बालमैत्री अस्पताल भवनको उद्घाटन गर्दै उनले सहज सेवा प्रवाहका लागि चाँडै व्यवस्थित परीक्षण प्रयोगशाला बनाउन आवश्यक उपकरण र अन्य सुविधा उपलब्ध गराउने बताएका हुन् ।
मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग देशका विभिन्न एक सय स्थानमा प्रयोगशाला बनाउने सम्झौता भएको र त्यसमध्ये मिक्लाजुङ अस्पतालमा पनि व्यवस्थित प्रयोशाला बनाइने घोषणा गरे । उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार सरकारको प्राथमिकता रहेको बताए ।
गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा शीघ्र सुरु हुने जानकारी दिए । उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको बताए ।
कार्यक्रममा अस्पतालका लागि जग्गा प्रदान गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा करिब एक करोड ९८ लाख ६१ हजार २८३ को लागतमा यहाँ बालमैत्री अस्पताल भवन निर्माण गरिएको हो ।