मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्योः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् । पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन् ।

“निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”, उनले भने, “तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।” सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ ।

उनले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताए । मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पारे ।

“केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन्”, उनले भने, “निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ ? भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु ।” उनले मुलुकमा कुनै समस्या पर्यो र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन्, त्यसले नै सरकार सञ्चालन गर्ने हो भन्दै पार्टीबाट अलग भएका साथीहरु निर्वाचनमा जान डराएको बताए । “उहाँहरु चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ”, उनले भने, “ निर्वाचनसँग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गर्नुभएको छ । त्यो हामी पूरा गर्न दिँदैनौं ।”

उनले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पारे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको बताउँदै अहिले प्रतिनिधिसभा मात्र विघटन भएको, तर राष्ट्रियसभा, प्रदेशसभा, संवैधानिक अङ्ग र स्थानीय तह क्रियाशील नै रहेकाले संविधानमा कुनै फरक नपरेको स्पष्ट पारे ।

उनले प्रतिनिधिसभा विघटन वैशाखसम्म मात्र भएकाले वैशाखपछि सामान्य परिस्थिति हुने बताए । कार्यक्रममा महासङ्घले २७५ सदस्यीय साताँै महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा बाबुराम थापा र सहसंयोजकमा दयाराम बस्याल रहेका छन् । नवगठित आयोजक कमिटीका सदस्यलाई पार्टी महासचिव पौडेलले शपथ खुवाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *