बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लामदिमिर पुटिनसँग शुक्रवार हुने भेटवार्ताका क्रममा रुसबाट केही युक्रेनी भूभाग फिर्ता गराउन प्रयास गर्ने बताएका छन् ।
‘रुसले युक्रेनको एउटा ठूलो हिस्सा अधीनमा लिएको छ। उनीहरूले महत्त्वपूर्ण भूभाग लिएका छन्। हामी केही भूभाग फिर्ता गराउने प्रयास गर्न जाँदै छौँ,’ ह्वाइट हाउसमा एउटा पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भने ।
यो साताको अन्त्यतिर ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच अलास्कामा वार्ता हुने तय भएको छ । प्रगति सम्भव हुने वा नहुने कुरा पुटिनसँगको भेटको दुई मिनेटमै आफूले थाहा पाउने ट्रम्पको दाबी छ ।
युद्ध अन्त्य गर्नका लागि पुटिनलाई आग्रह गर्ने गरी शुक्रवारको बैठक “मनस्थिति बुझ्ने बैठक“ हुने ट्रम्पले बताएका छन् । पुटिनले उक्त भेटवार्तालाई प्रारम्भिक भेटघाटका रूपमा पनि हेर्न सक्ने ट्रम्पले उल्लेख गरे। रुस र युक्रेनबीच ‘केही भूभाग साटासाट, परिवर्तन’ हुने उनले चेतावनी दिए ।
ट्रम्पले ‘भूभाग साटासाट’ को कुरा गरेको पहिलो पटक भने होइन, यद्यपि रुसले कुन भूभाग दिन सक्ने भन्ने कुरा स्पष्ट छैन। किएभले रुसी भूभागमाथि कहिल्यै आफ्नो दाबी गरेको छैन ।
भेटवार्ताका क्रममा पुटिनले ‘निष्पक्ष सम्झौता’ को प्रस्ताव गरेमा त्यसबारे युरोपेली नेताहरू जानकारी गराउने ट्रम्पले बताएका छन् । ‘सम्मान स्वरूप’ सबैभन्दा पहिला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सबैभन्दा पहिला त्यसबारे कुरा गर्ने पनि ट्रम्पले उल्लेख गरे ।
‘सबैभन्दा पहिला म उनलाई कल गर्छु… म उनलाई त्यसपछि कल गर्छु र भन्न सक्छु भाग्यले साथ देओस्, लडिराख्नूस् अथवा म भन्न सक्छु कि हामी एउटा सम्झौता गर्न सक्छौँ,’ ट्रम्पले भने ।
यसअघि जेलेन्स्कीसँग भेटवार्ता हुँदा उनले गरेका कुरासँग आफू एकदमै असहमत भएको पनि ट्रम्पले बताए । यसअघि ट्रम्पले सन् २०२२ को फेब्रुअरीदेखि रुसले पूर्ण स्तरमा आक्रमण गर्ने गरी जेलेन्स्कीले युक्रेनमा युद्ध निम्त्याएका आरोप लगाएका थिए ।
भावी भेटवार्तामा जेलेन्स्की पनि सहभागी हुन सक्ने भन्दै ट्रम्पले पुटिन र आफू पनि त्यसमा संलग्न हुने बताए । युरोपेली आयोगकी उपाध्यक्ष काया कालसले युक्रेन सहमत नहुने सम्झौताप्रति युरोप सहमत नहुने कुरा स्पष्ट रहेको बताइन् ।