एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले प्रि-सिजनमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । आइतबार राति भएको खेलमा इटालियन क्लब कोमोलाई ५-० गोलले हराउँदै बार्सिलोनाले जोन गाम्फर ट्रफी जितेको हो ।
इस्टाडी जोहान कर्फमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिने यामाल र फेर्मिन लोपेजले दुई/दुई गोल गर्दा राफिन्हाले एक गोल थपे । बार्सिलोनाले पहिलो हाफमै चार गोल गरेको हो । खेलको २१ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
३५ औँ मिनेटमा फ्रेन्की डी योङको पासमा लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा रासफोर्डको पासमा राफिन्हाले गोल गर्दै घरेलु टोलीलाई सहज जिततर्फ अगाडि बढाएका थिए ।
४२ औँ मिनेटमा राफिन्हाको पासमा यामालले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाए । ४९ औँ मिनेटमा टोरेसको पासमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-० गोलले अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना विजयी भएको छ ।
यससँगै सन् २०२४ मा मोनाकोसँग पराजित हुँदै जोन गाम्फर ट्रफी गुमाएको बार्सिलोनाले यसपटक भने आफ्नो कब्जामा राखेको छ । अब बार्सिलोनाले १६ अगस्टमा माल्लोर्कासँग खेल्दै ला लिगाको नयाँ सिजनको शुरुवात गर्नेछ ।
