लिभरपुललाई हराउँदै क्रिस्चल प्यालेसले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी । क्रिस्चल प्यालेसले कम्युनिटी शिल्डको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै प्यालेसले इतिहासमै पहिलोपटक कम्युनिटी शिल्डको उपाधि चुमेको हो ।

वेम्बली स्टेडियममा भएको खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा प्यालेस भाग्यमानी रह्यो । प्यालेसको लागि जिन-फिलिपे माटेटा, इस्माइला सार र जस्टिन डेभेन्नीले गोल गर्दा इबेरेची इजे र बोर्ना सोसा चुके । यता लिभरपुलको लागि कोडी गाक्पो र डोमिनिक स्जोबोस्ज्लाईले मात्र गोल गर्न सके । लिभरपुलका एलेक्सिस म्याक अलिस्टर र हार्भे इलियोटको प्रहार प्यालेसका गोलरक्षक डीन हेन्डरसनले रोक्दा मोहम्मद सलाहको प्रहार क्रसबारमा लाग्न पुग्यो ।

यसअघि लिभरपुलको लागि चार नयाँ खेलाडीले डेब्यु गरेको खेलको चौथो मिनेटमा विर्ट्जको पासमा हुगो एकिटिकेले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा जिन-फिलिपे माटेटाले गोल गर्दै प्यालेसलाई १-१ गोलको बराबरीमा ल्याए ।

चार मिनेट बित्न नपाउँदै जेरेमी फ्रिम्पोंगले स्जोबोस्ज्लाईको पासमा गोल गर्दै लिभरपुललाई  फेरी २-१ गोलको अग्रता दिलाएका थिए । ७७ औँ मिनेटमा व्हार्टनको पासमा सारले गोल गर्दै प्यालेसलाई २-२ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *