खेलमैदान स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्छौंः खेलकुद मन्त्री चौधरी

झापा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यबाट पर्यटक भित्र्याउने योजनामा सरकारले काम गरिरहेको बताएका छन् ।

काँकडभिट्टा खेलमैदानको शनिबार निरीक्षण गर्दै उनले पूर्वीनाकामा रहेको खेलमैदानमार्फत काँकडभिट्टाले नेपालमा पर्यटक भित्राउन सक्ने बताए । मन्त्री चौधरीले सङ्घीय सरकारले काँकडभिट्टा खेलमैदानको स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष २०८२/८३ मा तीन करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

‘क्रिक्रेट, फुटबल र भलिबल खेलेर नेपाली खेलाडीले लाखौँलाख आर्जन गरेका थुप्रै उदाहरण छन्’, उनले स्थानीय जनप्रतिनिधि, खेलाडी र खेलप्रेमीहरुलाई सम्बोधन गर्दै भने, ‘दुई ठूला देशको बीचमा छौँ हामी । एसियाली राजमार्ग निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्व अन्तर्राष्ट्रिय रुपमा बढेर जानेछ ।’

उनले खेलकुद क्षेत्र मनोरञ्जन, स्वास्थ्य र पर्यटनको माध्यम भएको जनाउँदै देशको पहिचान बढाउन काँकडभिट्टाले उत्पादन गरेका खेलाडीको अतुलनीय योगदान रहेको चर्चा गरे ।

सरकारले खेलकुद क्षेत्रका लागि अहिले ६ अर्ब बजेट छुट्याएको उल्लेख गर्दै मन्त्री चौधरीले खेलमैदान स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

काँकडभिट्टा खेलमैदानले चर्चेको जग्गा ग्रामीण आवास कम्पनीको भएको विषयमा उनले छिटोभन्दा छिटो खेलमैदानको जग्गा स्थानीय तहको स्वामित्वमा ल्याउनुपर्ने बताए । उनले खेलमैदानको जग्गाको स्वामित्व पालिकाको नाममा ल्याउन र त्यसको पूर्वाधार विकासमा सघाउन सरकार तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *