काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्व चर्चित खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् ।
बिहीबार अखिल नेपाल फूटबल संघ(एन्फा) द्वारा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा मेसी र रोनाल्डोभन्दा उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने “हामीले पेलेदेखि लिएर अहिलेका मेस्सी अथवा अरू खेलाडीहरूसम्मको दाँजोमा, एम्बाप्पे, रोनाल्डो अथवा अरू खेलाडीहरु सबैको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालमा उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।”
प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला निर्माणको घोषणासमेत गरेका छन् ।
यस परियोजना सञ्चालन गर्न फिफाबाट पचास हजार अमेरिकी डलर पाएको एन्फाले नेपालभरका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल वितरण गर्नेछ ।

