एजेन्सी । प्रिमियर लिग सम्मर सिरिज अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शनिबार राति भएको प्रि-सिजनको खेलमा युनाइटेडले वेस्ट हाम युनाइटेडलाई २-१ गोलले हराएको हो ।
मेट लाइफ स्टेडियममा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा वेस्ट हामको लागि जारोड बोवेनले एक गोल फर्काए । खेलको पाँचौं मिनेटमै ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाएका थिए ।
६३ औँ मिनेटमा बोवेनले गोल गर्दै वेस्टहामलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड २-१ गोलले विजयी भएको हो ।
