एजेन्सी । जर्मनी युईएफए वुमेन्स युरोकपको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको क्वाटरफाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६-५ गोलले हराउँदै जर्मनी अन्तिम चारमा पुगेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा जर्मनीको लागि जानिना मिन्गे, लिन्डा डाल्लामन, रेबिका कनाक, एन-कार्टिन बेर्गेर, क्लारा बुह्ल र स्जोएके नुस्केनले गोल गर्दा सारा डाब्रिट्ज चुकिन् ।
फ्रान्सको लागि साकिना कर्चाउइ, मेल्भिने मालार्ड, सान्डी बाल्टिमोर, ओरिआने जिन-फ्रान्कोइस र मेल्वेन डोंगालाले गोल गर्दा एलिस सोम्बाथ र अमेल माज्री गोल गर्न असफल भए ।
यसअघि सेन्ट जाकोब पार्कमा भएको खेलको १३ औँ मिनेटमै काथ्रिन-जुलिया हेन्द्रिच रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि जर्मनी १० खेलाडीमा समेटिएको थियो । १५ औँ मिनेटमा ग्रेस गेयोरोले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । १० मिनेटपछि स्जोएके नुस्केनले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन् ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको हो । अब जर्मनीले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । यस्तै अर्को सेमिफाइनल खेलमा इंग्ल्याण्ड र इटाली भिड्नेछन् ।