झापा । कनकाई नगरपालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजारभन्दा बढीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ।
जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानका बीच पनि आफूहरुले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागेको बताए ।
नगरभित्रका बाटो सडक, बिजुली बत्ती, कृषि, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार निर्माणको कार्य तीव्ररुपमा भइरहेको भए पनि अब धनीपुर्जा वितरणको कार्य सम्पन्न भएसँगै निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको प्रतिबद्धता पूरा हुने नगर प्रमुख पोखरेलले बताए । हाल कनकाईका सबै वडामा लगत सङ्कलन तथा दर्ता शिविरको कार्य तीव्रताका साथ भइरहेका कारण यसै आर्थिक वर्षभित्रमा कनकाई नगर क्षेत्रका १० हजारभन्दा बढी घरपरिवारलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने तयारी भइरहेको नगर प्रमुख पोखरेल बताउँछन् ।
नगरका सबै वडामा सजिलो र छिटो हुने प्रविधि टोटल स्टेशनबाटै जिपिएस प्रविधिबाट जग्गा नाप्ने कामसमेत सम्पन्न भइसकेकाले हाल वडा कार्यालयमा अन्य सेवाभन्दा पनि यसै कार्यका लागि थप कर्मचारीको व्यवस्थापन गरी दर्ता शिविर नै सञ्चालन गरिएको बताइएको छ ।
