साउथह्याप्टनको पोस्टमा युनाइटेडको ९ गोल

प्रज्जवल थापा । ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको साउथह्याप्टनको पोस्टमा म्यान्चेस्टर युनाइटेडले गोलको वर्षा गरेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले साउथह्याप्टनलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई फराकिलो जित दिलाउन एन्थोनी मार्सियलले दुई गोल गर्दा डानियल जेम्स, एडिन्सन काभानी, मार्कुस रासफोर्ड, एरोन वान बिसाका, स्कोट म्याक्टिमिने र ब्रुनो फेर्नान्डेजले एक/एक गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको दोस्रो मिनेटमै पाहुना टोली १० खेलाडीमा सिमित भएको थियो । म्याक्टोमिनेलाई समातेपछि रेफ्रीले जान्केविजलाई सिधैं रातो कार्ड दिएका थिए ।

१८ औं मिनेटमा लुके सहको पासमा एरोन वान बिसाकाले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाए । त्यसपछि युनाइटेडको गोल गर्ने क्रम रोकिएन । २५ औं मिनेटमा ग्रीनवुडको पासमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । ३४ औं मिनेटमा जान बेडनारेकले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि युनाइटेड फराकिलो जिततर्फ अगाडि बढेको थियो ।

३९ औं मिनेटमा लुके सहको पासमा एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाए । दोस्रो हाफमापनि युनाइटेडको गोल गर्ने क्रम रोकिएन । ६९ औं मिनेटमा ब्रुनो फेर्नान्डेजको पासमा मार्सियलले गर्दै युनाइटेडलाई ५-० गोलले अगाडि बढाए । ७१ औं मिनेटमा म्याक्टोमिनेले गोल गर्दै युनाइटेडलाई ६-० गोलले अगाडि बढाए ।

८६ औं मिनेटममा जान बेडनारेक रातो कार्ड खाँदै मैदान बाहिरिएपछि साउथह्याप्टन ९ खेलाडीमा झरेको थियो । उनले पेनाल्टी क्षेत्रमा मार्सियललाई लडाएका थिए । उक्त पेनाल्टीलाई ब्रुनो फेर्नान्डेजले गोलमा परिणत गर्दै युनाइटेडलाई ७-० गोलको अग्रता दिलाए । ९० औं मिनेटमा ब्रुनो फेर्नान्डेजको पासमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ८-० गोलको अग्रता दिलाए ।

यस्तै अतिरिक्त समयको अन्तिम मिनेटमा ब्रुनोको पासमा डानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ९-० गोलको फराकिलो जित दिलाए । जितका बाबजुत युनाइटेड २२ खेलमा ४४ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *