रियल म्याड्रिड र पीएसजी क्लब विश्वकपको सेमिफाइनलमा

एजेन्सी । अमेरिका जारी फिफा क्लब विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलमा रियल म्याड्रिड र पीएसजी विजयी भएसँगै सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको हो ।

गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा रियल म्याड्रिडले डर्टमण्डलाई ३-२ गोलले हराएको हो । मेटलाइफ स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन गोन्जालो गार्सिया, फ्रान्सिस्को गार्सिया र किलियन एम्बाप्पेले समान एक/एक गोल गरे । डर्टमण्डको लागि म्याक्सिमिलन बेर र सेर्होउ गुरासीले समान एक/एक गोल गरे । खेलको दसौं मिनेटमा गार्सियाले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । २० औँ मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेरले गोल गर्दै डर्टमण्डलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । इन्जुरी समयकै चौथो मिनेटमा गुलेरको पासममा एम्बाप्पेले ओभरहेड किकमा गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको अग्रता दिलाए । छैटौं मिनेटमा हिन हुज्सेन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो ।

इन्जुरी समयकै आठौँ मिनेटमा डर्टमण्डको लागि गुरासीले पेनाल्टीमा गोल सान्तवना गोल गरे ।

अब म्याड्रिडले सेमिफाइनल खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी)को सामना गर्नेछ । पीएसजीले गएरातिनै भएको अर्को खेलमा बायर्न म्युनिखलाई २-० गोलले हराएको थियो । यस्तै अर्को सेमिफाइनल खेलमा फ्लुमिनेन्से र चेल्सी भिड्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *