काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत जारी नेपाल र उज्वेस्कितानबीचको खेल पेनाल्टी सुटआउटमा पुगेको छ । तास्केन्तस्थित बुन्योदकोर रंगशालामा जारी खेलको निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
पहिलो हाफमा ३-१ गोलले पछि परेको नेपाललाई सावित्रा भण्डारीले दुई मिनेटमा दुई गोल गर्दै खेलमा फर्काएकी हुन् ।
खेलको दोस्रो मिनेटमै पहिलो गोल बेहोरेको नेपालले ११ औँ मिनेटमा दोस्रो गोल बेहोरेको थियो । नेपालकी डिफेन्डर समिक्षा घिमिरेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि नेपाल २-० गोलले पछि परेको थियो । २४ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर ३९ औँ मिनेटमा उज्वेस्कितानले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा ३-१ गोलको अग्रता लिएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा उज्वेकिस्तान १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफको ७१ औं र ७२ औँ मिनेटमा सावित्राले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेर नेपाललाई ३-३ गोलको बराबरीमा ल्याएकी हुन् । जारी छनोटमा सावित्राको यो लगातार तेस्रो ह्याट्रिक हो ।