प्रज्जवल थापा । कोपा इटालियाको सेमिफाइनलमा आज इन्टर मिलान र युभेन्टस भिड्दै छन् । सान सिरोमा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।
युभेन्टसले क्वाटर फाइनलमा स्पाललाई ४-० गोल अन्तरले पराजित गरेको थियो । उक्त खेलमा विश्राम पाएका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आजको खेलमा शुरुवात गर्ने सम्भावना छ । युभेन्टसले पछिल्लो ४ खेलमा सतप्रतिशत जित निकालेको छ । घरेलु लिगमा युभेन्टस १९ खेलमा ३९ अङ्क जोड्दै चौथो स्थानमा छ ।
यता इन्टर मिलानले क्वाटर फाइनलमा एसि मिलानलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनल फाइनलको बाटो तय गरेको थियो । त्यसैलेपनि आज इन्टर उच्च मनोबल सहित मैदान उत्रिनेछ । इन्टर पछिल्लो ५ खेलमा अपराजित रहेको छ । घरेलु लिगमा इन्टर २० खेलमा ४४ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
दुई टोलीबिच भएको पछिल्लो २५ खेलमा युभेन्टसले १३ खेल जितेको छ भने ४ खेल इन्टरले आफ्नो पोल्टामा पारेको थियो ।
