पोर्चुगल र लिभरपुलका स्टार फरवार्ड डिएगो जोटाको कार दुर्घटनामा निधन

एजेन्सी । पोर्चुगल र लिभरपुलका फरवार्ड डिएगो जोटाको स्पेनमा कार दुर्घटनामा परेर निधन भएको छ । दुर्घटनामा उनको भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ ।

दुर्घटना बिहीबार स्थानीय समय अनुसार राति १२:३० बजे स्पेनको जामोरा प्रान्तस्थित सेर्नादिल्ला नगरपालिका नजिकै ए-५२ मोटरवेमा भएको हो ।

२८ वर्षीय जोटा र उनको भाइ आन्द्रे दुवैको घटनास्थलमै ज्यान गएको पुष्टि स्पेनको सुरक्षा निकाय गार्दिया सिभिलले गरेको छ । २६ वर्षका सिल्भा पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनाफिएलबाट व्यवसायिक फूटबल खेल्दै आएका थिए ।

लिभरपुल फुटबल क्लबले जोटाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ:

“लिभरपुल फुटबल क्लब डिओगो जोटाको दुखद निधनबाट पूर्ण रूपमा मर्माहित भएको छ । २८ वर्षीय जोटाको स्पेनमा सडकमै भएको दुर्घटनामा निधन भएको छ, जसमा उनका भाइ आन्द्रेपनि निधन भएका छन् । अहिले क्लबले थप कुनै प्रतिक्रिया दिने छैन र जोटा र आन्द्रेको परिवार, साथीभाइ तथा कर्मचारीहरूको गोपनीयता कायम राख्न अनुरोध गर्दछ ।”

जोटाले केही दिनअघि मात्रै, जुन २२ मा लामो समय प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग विवाह गरेका थिए । उनीहरूका तीन सन्तान रहेका छन् ।

डिओगो जोटाले आफ्नो व्यावसायिक करियरमा ३ सय ९८ खेल खेलेका थिए । सन् २०२० सेप्टेम्बरमा वुल्भ्सबाट लिभरपुल पुगेका उनले १ सय ८२ खेल खेलेका थिए । उनले यस सिजन लिभरपुलबाट प्रिमियर लिगको उपाधि जितेका थिए । यस्तै उनले जुन ८ मा स्पेनविरुद्ध पोर्चुगललाई नेशन्स लिग जिताउन पनि भूमिका खेलेका थिए ।

पाकोस डे फेरेराबाट करियर शुरु गरेका उनले एट्लेटिको मड्रिड, पोर्टो हुँदै सन् २०१७ मा वुल्भ्समा लोनमा अनुबन्ध भएका थिए । उनले लिभरपुलबाट प्रिमियर लिग, एफए कप र इएफएल कप जितेका थिए भने पोर्चुगलका लागि दुईवटा नेसन्स लिग उपाधि जितेका थिए ।

पोर्चुगल फुटबल महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ:

“पोर्चुगल फुटबल महासंघ र सम्पूर्ण पोर्चुगल फुटबल पूर्ण रूपमा मर्माहित बनेको छ । करिब ५० अन्तर्राष्ट्रिय खेल खेलेका डिओगो जोटा खेल मात्र होइन, एक असाधारण व्यक्ति थिए, साथीभाइ र प्रतिद्वन्द्वीहरूद्वारा सम्मानित, सधैं सकारात्मक ऊर्जा दिने, समाजका लागि प्रेरणादायी व्यक्तित्व ।”

“हामीले दुई जना च्याम्पियन गुमाएका छौं । डिओगो र आन्द्रेको निधन पोर्चुगली फुटबलका लागि अपूरणीय क्षति हो । हामी सधैं उनीहरूको सम्झनामा गर्वका साथ अगाडि बढ्नेछौं ।”

युरोपियन च्याम्पियनसिप अन्तर्गत स्पेनविरुद्ध आज खेल्दै गरेको पोर्चुगल महिला टोलीले युईएफएसँग खेलअघि एक मिनेट मौन धारणको अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *