नेपालीको रेस्टुरेन्टलाई पोल्याण्डमा सर्वाेत्कृष्ट अवार्ड

शेरबहादुर परियार, पोल्याण्ड । यूरोपेली मुलुक पोल्याण्डस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले “सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०” अवार्ड प्राप्त गरेको छ ।

पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनी pyszne.pl द्वारा wojewoda łódzki को सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२० काे अवार्ड स्नेहाजले प्राप्त गरेकाे सञ्चालक सापकोटाले बताए । यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आइरहेको छ । ‘विदेशी भूमिमा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउनु गौरवको महसुस गरेको छु’, उनले भने । उनी विगत १६ वर्षदेखि सपरिवार पोल्याण्डमा बस्दै आएका छन् ।

अवार्ड विजेतालाई नेपाली व्यवसायी संघ पोल्याण्डको सम्मान

पोल्याण्डमा रहेका नेपाली मूलका व्यवसायी, उद्यमी, पेशाकर्मीहरुको संगठन नेपाली व्यवसायी संघ पोल्याण्डले अवार्ड प्राप्त गर्न सफल सापकोटालाई एक कार्यक्रमबीच सम्मान गरेको छ । सापकाेटा संघकाे सदस्यसमेत हुन् ।

पोल्याण्डको वार्सामा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष डा. उदयदेव आचार्यले सापकोटालाई बधाई तथा शुभकामना पत्रसहित सम्मान गरे । सम्मान कार्यक्रममा अध्यक्ष आचार्यले भने ‘यस नेपाली व्यवसायी संघका सदस्य सापकाेटाले पोल्याण्डका कैयौं व्यवसायीलाई पछि पार्दै पाएकाे यो स्तरको सफलताले पोल्याण्डमा रहेका नेपाली समुदायलाई गर्व महसुस गराएको छ ।’ कोभिडको कारणले उत्पन्न अहिलेको बिषम परिस्थितिमा व्यवसायी संघ पोल्याण्डले नेपाली व्यवसायीबीच सहयोग र आदान प्रदान बढाउँदै भविष्यमा थप उर्जासहित अगाडि बढ्ने पनि उनले बताए ।

सम्मानित सापकाटाले आफूले पाएको सफलता व्यक्तिगत नभएर सिंगो नेपाली व्यवसायीप्रतिको सम्मान भएको बताउँदै सम्बन्धित सबैलाई धन्यवाद दिए । “मसँग जोडिएका मेरा प्रत्येक कर्मचारीका मेहनती हातहरुको परिणामले यो अवार्ड प्राप्त गर्न सम्भव भएको हो,” सापकोटाले भने, “यो सम्मानले ममा थप चुनौती र जिम्मेवारी थपिएको छ ।”

व्यवसायी संघका सचिव आनन्द घिमिरे, व्यवसायीहरु रिता न्यौपाने, टंक कटुवाल, प्रकाश तिवारी,अमितकुमार यादव,अनुपा आचार्यलगायतले सापकोटालाई बधाई तथा शुभकामना दिँदै अवार्डले नेपालीहरूकाे सम्मान बढाएकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *