एजेन्सी । भारतविरुद्ध घरेलु मैदानमा जारी टेस्ट सिरिजमा इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न पाँचौ दिनमा भारतलाई ५ विकेटले हराउँदै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको हो ।
जितको लागि ३ सय ७१ रनको विजयी लक्ष्य पाएको इंग्ल्याण्डले ८२ ओभरमा पाँच विकेटको क्षतिमा ३ सय ७३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । इंग्ल्याण्डलाई जित दिलाउन बेन डकेटले सतक पूरा गरे । उनले १ सय ७० बलमा २१ चौका र १ छक्काको मद्दतमा १ सय ४९ रन बनाए । यस्तै जाक क्रावलीले ६५, जोए रुटले ५३, जेमी स्मिथले ४४ र बेन स्टोक्सले ३३ रनको योगदान गरे ।
भारतको लागि शार्धुल ठाकुर र प्रशिद्ध कृष्णले दुई/दुई विकेट लिँदा रविन्द्र जडेजाले एक विकेट लिए ।
यसअघि लिड्समा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले पहिलो इनिंसमा १ सय १३ ओभरमा अलआउट हुँदै ४ सय ७१ रन बनाएको थियो । भारतको लागि यशाश्वी जैशवल, शुभ्मन गिल र ऋशव पन्तले सतक बनाएका थिए । जगिलले १ सय ४७, पन्तले १ सय ३४ र जैशवालले १ सय १ रन बनाएका थिए ।
इंग्ल्याण्डको लागि जोश टंग र बेन स्टोक्सले चार/चार विकेट लिँदा ब्रेडन क्रेस र शोइब बाशिरले एक/एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले १००.४ ओभरमा अलआउट हुँदै ४ सय ६५ रन बनाएको थियो । इंग्ल्याण्डको लागि ओली पपले १ सय ६ रन बनाउँदा ह्यारिक ब्रुकले ९९ र बेन डकेटले ६२ रन बनाए ।
भारतको लागि जस्प्रित बुम्राले पाँच, प्रशिद्ध कृष्णले तीन र मोहम्मद सिराजले दुई विकेट लिए ।
पहिलो इनिंसबाट ६ रनको अग्रता लिएको भारतले दोस्रो इनिंसमा ९६ ओभरमा अलआउट हुँदै ३ सय ६४ रन जोडेको थियो । भारतको लागि केएल राहुलले १ सय ३७ र ऋशव पन्तले १ सय १८ रन बनाए ।
इंग्ल्याण्डको लागि ब्रेडन कार्से र जोश टंगले तीन/तीन विकेट लिँदा शोइब बाशिरले दुई र बेन स्टोक्सले एक विकेट लिएका थिए ।
