म्याग्दी । आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को फाइनलमा पुगेका छन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको बुधबार हुने फाइनलमा प्रथम स्थानका लागि म्याग्दी र स्याङ्जाबीच प्रतिस्पर्धा हुने भएको हो ।
बेनीको खुला मञ्च खेलमैदानमा आज भएको सेमीफाइनलमा म्याग्दीले बागलुङलाई २५–१७, २५–१९ र २५–२१ को अन्तरमा सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा पुगेको प्रतियोगिताको रेफ्री संयोजक टलसिङ थापाले बताउनुभयो । स्याङ्जाले तनहुँसँग भएको प्रतिस्पर्धात्मक खेलमा दुईका विरुद्ध तीन सेटले पराजित गरेको हो ।
२५–१९ र २५–२२ को अन्तरमा पहिलो र दोस्रो खेल जितेको तनहुँ तेस्रो, चौथो र पाँचौँ सेटको खेलमा स्याङ्जासँग ३०–२८, २५–१६ र १९–१७ को अन्तरमा पराजित भयो । तनहुँ र बागलुङबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।