एसियन कप छनोट खेल्न जाने नेपाली महिला टोलीलाई बिदाइ

काठमाडौं ।  उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रम गरी टोलीलाई बिदाइ गरेको हो ।

नेपाली टोलीलाई बिदाइ युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाइ गरेका हुन् ।

छनोटको लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टोलीमा विभागीय टोली नेपाल एपीएफ क्लबकी डिफेन्डर प्रतीक्षा चौधरीले पहिलोपटक स्थान बनाएकी छिन् । उनीसँगै डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, विमला विक, पूजा राना र अमृता जैशी रहेका छन् ।

गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ छन् भने मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता राना मगर र सरस्वती हमालले स्थान बनाएका छन् ।

यस्तै टोलीको अग्रपंक्तिमा सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् ।

छनोटमा सहभागि ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । ६ समूहमा चार टोली रहेका छन् भने दुई समूहमा पाँच टोली रहेका छन् । आठ समूहको विजेता एसियन कपमा छनोट हुनेछन् ।

छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । समूह ‘एफ’मा नेपालसँगै लाओस, श्रीलंका र घरेलु टिम उज्वेकिस्तान रहेका छन् । नेपालले २९ जुनमा लाओससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । दोस्रो खेल श्रीलंकासँग २ जुलाईमा र तेस्रो तथा अन्तिम खेल ५ जुलाईमा उज्वेकिस्तानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *