क्लब विश्वकपमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी

एजेन्सी । फिफा क्लब विश्वकपमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । आइतबार राति भएको खेलमा रियल म्याड्रिडले पाचुचालाई ३-१ गोलले हराएको हो ।

बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन जुड बेल्लिन्घाम, आन्द्रा गुलेर र फेडेरिको भाल्भेर्डेले समान एक/एक गोल गरे । पाचुचाको लागि इलायस मोन्टिएलले एक गोल गरे । खेलको सातौं मिनेटमा राउल एसेन्सियो रातो कार्ड मैदान बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो ।

३५ औँ मिनेटमा बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । ४३ औँ मिनेटमा गुलेरले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ७० औँ मिनेटमा भाल्भेर्डेले गोल गर्दै म्याड्रिडलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ८० औँ मिनेटमा मोन्टिएलले गोल गर्दै पाचुचालाई ३-१ गोलको स्थितिमा ल्याएका थिए ।

तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड ३-१ गोलले विजयी भएको हो । जितसँगै म्याड्रिड २ खेलबाट ४ अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट अंकविहीन पाचुचा समूहको पुछारमा रहेको छ ।

यस्तै आज बिहानको अर्को खेलमा म्यानचेस्टर सिटीले अल एनमाथि ६-० गोलको फराकिलो जित निकालेको हो । मर्सिडिस बेन्ज स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन इल्काइ गुन्डोगानले दुई तथा क्लाउडियो इचेभेरी इर्लिंग ब्राउट हालान्ड, ओस्कार बब र रायन चेर्कीले समान एक/एक गोल गरे ।

जितसँगै सिटी दुई खेलबाट ६ अंक जोडेको सिटी समूह ‘जी’को दोस्रो स्थानमा रहेको छ । समान खेलबाट अंकविहिन अल एन समूहको पुछारमा  रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *