क्लब विश्वकपमा चेल्सी फ्लामेन्गोसँग स्तब्ध

एजेन्सी । अमेरिकामा जारी फिफा क्लब विश्वकपमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको चेल्सी ब्राजिलियन क्लब फ्लामेन्गोसँग ३-१ गोलले स्तब्ध बनेको हो ।

लिन्कोल फाइनेन्सियल फिल्डमा भएको खेलमा फ्लामेन्गोलाई जित दिलाउन ब्रुनो हेन्रिकी, डानिलो रवाल्लास यानले एक/एक गोल गरे । चेल्सीको लागि पेड्रो नेटोले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित हुन पुगेको हो । खेलको १३ औँ मिनेटमा नेटोले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६२ औँ मिनेटमा ब्रुनोले गोल गर्दै फ्लामेन्गोलाई १-१ गोलको बराबरीमा ल्याए । ६५ औँ मिनेटमा डानिलोले गोल गर्दै ब्राजिलियन टोलीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ६८ औँ मिनेटमा निकोलस ज्याक्सन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

यस्तै ८३ औँ मिनेटमा यानले गोल गर्दै फ्लामेन्गोलाई ३-१ गोलको जित दिलाएका हुन् । जितसँगै फ्लामेन्गो २ खेलबाट ६ अंक जोड्दै समूह ‘डी’को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको चेल्सी दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *