क्लब विश्वकप आइतबार बिहानबाट, पहिलो खेलमा मेस्सीको मियामी र अल अहली भिड्दै

एजेन्सी । फिफा क्लब विश्वकप-२०२५ आइतबारबाट अमेरिकामा शुरु हुँदैछ । आइतबार बिहान हुने उद्धाटन खेलमा अमेरिकाको इन्टर मियामी र इजिप्टियन क्लब अल अहली भिड्दैछन् । फ्लोरिडास्थित हार्ड रक स्टेडियममा हुने खेल बिहान ५:४५ बजे शुरु हुनेछ ।

सन् २००७ देखि शुरु भएको प्रतियोगिता पहिलोपटक ६ फूटबल संघका ३२ टोलीलाई लिएर हुन लागेको हो । यसअघि हरेक वर्ष हुने क्लब विश्वकपमा सात टोलीमात्र प्रतिस्पर्धा गर्दै आएका थिए । फिफाले यसपटक देखि क्लब विश्वकप हरेक चार/चार वर्षमा ३२ टोलीसहित गर्न लागेको हो ।

फिफाले सहभागी ३२ टोलीलाई ८ समूहमा विभाज गरेको छ । सबै आठ समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । त्यसपछि फाइनलसम्म नकआउट आधारले चल्नेछ ।

विश्वकपमा युरोपबाट सर्वाधिक १२ टोली सहभागी हुँदैछन् । सहभागी टोलीमा रियल म्याड्रिड, चेल्सी, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, पेरिस सेन्ट जर्मन, बोरुसिया डर्टमण्ड, एथ्लेटिको म्याड्रिड, युभेन्टस, पोर्टो, बेन्फिका, इन्टर मिलान र साल्जवर्ग रहेका छन् । यस्तै कोन्मेबोलबाट फ्लामेन्गो, फुल्मिनेन्से, बोटाफोगो, पाल्मेरेस, रिभर प्लेट र बोका जुनियर्स गरी ६ टोलीले स्थान पाएका छन् ।

कोन्काकाफबाट पाँच तथा एसिया र अफ्रिकाबाट चार/चार टोलीले यसपटकको क्लब विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् । ओसेनियाबाट भने एकमात्र अकल्याण्ड सिटीले दाबेदारी प्रस्तुत गर्दैछ ।

यसपटकको क्लब विश्वकप १२ रंगशालामा आयोजना हुँदैछ । त्यसमध्ये पाँच रंगशालाले आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप आयोजना गर्नेछन् । फाइनल खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ भने मियामीको हार्ड रक स्टेडियमले उद्धाटन खेल आयोजना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *