शान्ति तथा मानवकल्याणको कामनासहित स्वयम्भूमा बुद्धपूजा

काठमाडौँ । विश्वशान्ति तथा मानवकल्याणको कामनासहित मंगलबार स्वंयम्भूमा बुद्धपूजा गरिएको छ । बुद्धको जन्मेको पवित्र महिना (सागा दावा)का अवसरमा महायान सम्प्रदायका गुरुबाट एक करोड अवलोकितेश्वरको मन्त्र जप तथा प्रवचनसहित पूजा गरिएको हो ।

विशिष्ट गुरु क्याब्जे सेर्कोङ दोर्जे छ्याङ रिम्पोछेले भक्तजनलाई दिक्षा प्रदान गर्दै सभ्य समाज र विश्वशान्ति स्थापनाका लागि बौद्ध दर्शनको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । पूजामा बौद्ध ग्रन्थको पाठले सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास लिइएको भन्दै उनले बुद्धका उपदेश फैलाएर तथा नैतिक शिक्षाको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न सहयोग पुग्ने उल्लेख गरे ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति सदस्य राजुकुमार लामाले विश्व समुदायलाई बुद्धको शिक्षा र सन्देश प्रवाह गर्न विश्वसम्पदा सूचीकृत स्वयम्भू क्षेत्रमा विभिन्न सम्प्रदायका गुरुबाट गरिने पूजाको विशेष महत्त्व रहेको बताए ।

दुई दिनसम्म सञ्चालन हुने पूजाअन्तर्गत त्रिमहाचैत्यको दर्शन गर्ने कार्यक्रम छ । त्यसक्रममा स्वयम्भू, बौद्ध र नमोबुद्वको परिक्रमा गरिने कार्यक्रम संयोजक कोशिश लोप्साङले जानकारी दिए ।
महासमितिले स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने स्थानीय जात्रा, पर्व र संस्कृतिको संरक्षण गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *