तीन दिनमा सीमावर्ती क्षेत्रका तीन स्थानमा झडप

बिराटनगर । नेपाल र भारत सीमाक्षेत्रमा तनाव बढेको छ । पछिल्लो तीन दिनमा प्रदेश १ को सीमावर्ती तीन स्थानमा झडप भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।

बिहीबार र शुक्रबार राति सुनसरीको छुट्टा छुट्टै स्थानमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको थियो । सीमा स्तम्भ १५२ नजिकै तस्करी गर्न आएको ४०–५० जनाको समूहले आक्रमण प्रयास गरेपछि झाडप हुँदा राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ । चेकजाँचका लागि खटिएको प्रहरी टोली र मोटरसाइकलमा आएका पाँचजनाको समूहबिच गोली हानाहान समेत भएको थियो ।

भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा आएको समुहले चेकजाँचका क्रममा फायरिङ गरेपछि प्रहरीले १२ राउण्ड फायर गरेको थियो । गोली लागेर देवानगञ्ज गाउँपालिका २ बस्ने २३ वर्षीय पिन्टु यादव, देवानगञ्ज ३ का ३२ वर्षीय राजेश यादव घाइते भएका छन भने तीनजना भारततर्फ भागेका थिए । घटनास्थलबाट युएसए लेखिएको पेस्तोल एउटा, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली, २ थान म्यागजिन र मोटरसाइकल बरामद भएको थियो ।

सुनसरीकै हरिनगरा गाउँपालिका– ७ को सीमावर्ती क्षेत्र जटबरामा शुक्रबार राति मध्यरातमा भारतबाट आउँदै गरेको समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण गरी हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक घाइते भएका थिए ।


शनिबार राति झापामा पनि तस्करको समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । सुरक्षा सतर्कता बढाएर नाकामा कडाइ गर्दा सरक्षाकर्मीमाथि आक्रमण प्रयासका घटना बढ्दै गएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *