काठमाडाैँ । सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको भन्दै अब खोप ल्याउने र लगाउने काम मात्रै बाँकी रहेको बताए । उनका अनुसार नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ । यद्यपि भारतले दाेस्राे चरणकाे खोप अनुदानमा दिने विषयमा कुनै प्रतिक्रिया जनाएकाे छैन । खरिद गरिने खोपको मूल्यसमेत निर्धारण हुन बाँकी रहेको डा अधिकारीले बताए ।
हिजाे सुरू पहिलो चरण अन्तर्गतको खोप आज जारी हुनेछ । हिजो प्राविधिक कारणले खोप पुर्याउन नसकिएका जिल्लामा आज खोप लगाउन सुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।