सुरेश लामा र त्रिशाला गुरुङको ‘माया के हो’

काठमाडौँ।  गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिएको प्रेमभाव झल्काउने गीति श्रव्यदृश्य ‘माया के हो’ सार्वजनिक गरिएको छ।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार अर्जुन पोखरेलले यस गीति श्रव्यदृश्यको सार्वजनिक उद्देश्य र रोमान्टिक शैलीको गीतको महत्त्वबारे जानकारी दिएका छन्।

पोखरेलले भने,‘अहिले सामाजिक विषयका फिल्महरूको निर्माण बढी भएको देखिन्छ, त्यसैले प्रेमभाव व्यक्त गर्ने रोमान्टिक शैलीका गीतहरूको अभाव महसुस भएको छ। यो गीत झैँ श्रव्यदृश्यले प्रेम र भावनालाई व्यक्त गरेको छ र निर्माण समुहले निकै मेहनत गरेको छ।’

गीतको शब्द प्रेमराज अधिकारीले लेखेका हुन् र यसमा मकवानपुरको कुलेखानी र आसपासका क्षेत्रलाई समेटेर श्रव्यदृश्यको छायांकन गरिएको निर्देशक निकेश खड्काले जानकारी दिए। उनले थपे, ‘दर्शकलाई नयाँ अनुभव दिनका लागि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री उगेन छोदेनलाई श्रव्यदृश्यमा प्रस्तुत गरिएको छ।’

निर्देशक खड्काले भने, ‘गीतको मिठासलाई दृश्यमा व्यक्त गर्न सकेका छौँ। दुई प्रेमिल जोडीको प्रेम र एकअर्काप्रतिको सम्मानलाई श्रव्यदृश्यमा देखाइएको छ। यसले गीतलाई गुनगुनाइरहने शैलीमा प्रस्तुत गरेको छ।’

अभिनेता आकाश श्रेष्ठले गीत मन पराएर श्रव्यदृश्यमा काम गर्ने इच्छा व्यक्त गरे। ‘मैले यो गीत मन पराएर काम गरेको हुँ। यो आँखालाई शीतलता दिने र कर्णप्रिय गीत बनेको छ,’ उनले भने।

नेपाली फिल्म ‘दुई नम्बरी’ मा काम गरेका भूटानी अभिनेत्री उगेन छोदेनले नेपालमा काम गर्दा खुसीको अनुभव सुनाइन्। यो श्रव्यदृश्यमा उनको पहिलो काम हो। उनले भनिन्, ‘म नेपालमा काम गर्न पाउँदा खुसी छु, यस समुहले मलाई धेरै सहज र सरल वातावरण दिएको छ। मैले नेपालबाट पाएको मायालाई शब्दमा व्यक्त गर्न सक्दिनँ र त्यसैले म पुनः काम गर्न आएकी हुँ।’

ङागस्तो दोर्जी योञ्जनले निर्माण गरेको श्रव्यदृश्यलाई हरि हुमागाईंले छायांकन, सुवास तिमल्सेनाले शृङ्गार, कुसुम बुटिकले वेशभूषा र विकास धमलाले सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *