काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा बुधबार भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो ।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १०२ रनमात्र बनाउन सक्यो । नेपालकी साना प्रवीनले सबैभन्दा धेरै ३१ रन बनाइन् ।
यस्तै कविता जोशीले नटआउट १७ रन जोडिन् । नामिबियाकी इभेलीन केजरुक्वाले २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । योसँगै शृङ्खलामा नेपालले ४ वटा खेलमा ३ वटा हारेको छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । नेपालले बिहीबार युगान्डासँग र शुक्रबार हङकङसँग खेल्नेछ ।