भोजपुरको पाँचधारेमा स्तूपा निर्माण

भोजपुर। भोजपुरको टेम्केमैयुङ–९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने लक्ष्यले यहाँ स्तूपा निर्माण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाखमा बौद्धस्तूपा निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । काठमाडौँमा रहेको बौद्धस्तूपाको जस्तै आकारमा निर्माण हुने यो स्तूपा खोलुखुम्बुबाट दक्ष कालीगड ल्याएर निर्माणको काम भइरहेको उनको भनाइ छ ।

पर्यटकीय क्षेत्रको विकाससँगै धार्मिक सहिष्णुता कायम गर्न बौद्ध धर्म मान्ने समुदायलाई लक्षित गरेर स्तूपा निर्माण भइरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताए।

‘धार्मिकसँगै पर्यटकीय क्षेत्रको विकासका लागि स्तूपा निर्माण गरिरहेका छौँ’, उनले भने, ‘पाँचधारे पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको स्थान हो । यसले यहाँको पर्यटनको विकासमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।’

यहाँ स्तूपा निर्माणपश्चात् पदमार्ग निर्माण, घेरबारासँगै वृक्षारोपण गरिने उहाँले जानकारी दिए।

पाँचधारेमा ‘पाँच धाम’ निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताए। सबै समुदायको अपनत्व हुने गरी यहाँका संरचना निर्माण भइरहेका छन् । किरात समुदायलाई लक्षित गरेर पाँचधारेमा नै करिब रु ८० लाख लागतमा किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ ।

अब हिन्दू समुदायलाई लक्षित गरेर पशुपति मन्दिर निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए।

‘यहाँ बसोबास गर्ने सवै समुदायलाई समेटेर संरचना निर्माण गरिरहेका छौँ’, उनले भने, ‘किरात, बौद्ध धर्मावलम्बीलाई लक्षित गरेर संरचना निर्माण भइरहेका छन् । धार्मिक पर्यटनको विकासको लागि पाँचधारेमा पाँच धाम निर्माण गर्ने योजना छ ।’

स्थानीय सौगात राईले पाँचधारे पोखरी तथा किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षणसँगै पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकको आवागमन बढेको बताए। टेम्केमैयुङ गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताए।

गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । कृषि र पर्यटनलाई स्थानीयवासीको जीविकोपार्जनसँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *